चितवन । १५ औँ चितवन महोत्सव आगामी पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदी किनारको प्रदर्शनी मैदान, नारायणगढमा आयोजना गरिने भएको छ।
उद्योग वाणिज्य सङघ चितवनको आयोजनामा चितवनको सामाजिक, आर्थिक र संस्कृतिको प्रवद्र्धनका लागि हुने महोत्सवले यस वर्ष पर्यटनलाई मुख्य केन्द्रबिन्दु बनाउँदै चितवनलाई विविधता र समृद्धिको भूमिको रूपमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ।
१५ दिनसम्म चल्ने महोत्सवमा ४ सय ३० भन्दा बढी स्टल, चिनियाँ उद्योग वाणिज्य संघको समन्वयमा निर्माण एक्सपो, अटो परिसर, र परम्परागत फुड फेस्टिभल लगायतका गतिविधिहरू हुने महोत्सव मुल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
आज भएको पत्रकार सम्मेलनमा उहाँले महोत्सवले चितवनका पर्यटकीय स्थलहरूलाई उजागर गर्न कृत्रिम पार्क, सफारी यात्रा, होमस्टे अनुभव, र वृत्तचित्र प्रदर्शनको योजना बनाएको बताउनुभयो । श्रेष्ठका अनुसार रोबोटद्वारा महोत्सवको समुद्घाटन गरिनेछ भने टिकट अनलाइन र भौतिक दुवै माध्यमबाट खरिद गर्न सकिनेछ।
आयोजकका अनुसार महोत्सवमा करिब ५ लाख दर्शकको सहभागिता र ३० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान छ।
चितवन महोत्सव २०८१ ले जिल्लाको पहिचान, व्यवसाय, र रोजगारी प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने आयोजकले विश्वास लिइएको छ। आयोजकले सबैलाई महोत्सव अवलोकन गर्न र सफल बनाउन अपिल समेत गरेका छन्।









