चितवन । कालिका नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालमा बिरामीको उपचारको प्रभावकारिताका लागि प्रविधिको प्रयोग गरिएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई भरपर्दो स्वास्थ्यसेवा प्रदान गरी उपचारका लागि जिल्लाका अन्य अस्पताल जान नपर्ने गरी उपचारमा प्रविधिको प्रयोग गरिएको हो ।
२०७४ सालबाट स्वास्थ्य बिमा सुरू गरेको सो अस्पतालले नगर अस्पतालबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ । दैनिक २५० जना बिरामीको उपचार गर्दै आएको सो अस्पतालमा बुधबारदेखि प्रयोगशाला विस्तार र टोकन प्रणालीको समेत सुरूवात गरिएको छ ।


अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रमका बीच कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले प्रयोगशालामा ल्याइएको अत्याधुनिक मेसिन र टोकन प्रणालीको उद्घाटन गरेका हुन् । सो अस्पतालमा बुधबारदेखि थाइराइड, भिटामिन डी, सी र क्यान्सरसमेत परीक्षण गर्ने मेसिन प्रयोगमा ल्याइएको छ । टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने झन्झटको अन्त्य गर्न टोकन सिस्टमको सुरूवात गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले प्रदान गरेको २२ लाख मूल्य पर्ने अत्याधुनिक मेसिन प्रयोगमा ल्याइएको हो ।
मेयर रेग्मीले उपचारमा आएका ज्येष्ठ नागरिकलाई टोकन प्रणालीबाट टिकट काटेर सो प्रणालीको उद्घाटन गरेका थिए । सो अवसरमा उनले कालिका नगर अस्पतालको सेवालाई विस्तार र समायनुकूल बनाउँदै लैजाने बताए । कालिकावासीको जीवनरक्षा गर्ने दायित्व स्थानीय सरकारको रहेको भन्दै नगर अस्पतालमै जटिल प्रकारका रोगको समेत उपचार हुने गरी सेवा परिष्कृत गर्दै लैजाने उनले बताए । विशेषज्ञ डाक्टरहरुको संख्या वृद्धि गर्दै नगरवासीहरु उपचारका लागि जिल्लाका अन्य अस्पतालमा जान नपर्ने गरी सेवा सुधार गर्ने उनको भनाइ छ । मेयर रेग्मीले नगरभित्रका विपन्न समुदायको उपचारमा पहुँच पु¥याउन निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए । यो वर्ष करिब एक हजार घरधुरीको निःशुल्क स्वास्थ्य बिमा गरिएको भन्दै उनले आगामी वर्ष थप गर्दै लैजाने बताए ।
सरकारले २०७६ सालमा जुटपानी प्राथमिक स्वास्थ्यकेन्द्रको स्तरोन्नति गरी कालिका नगर अस्पताल निर्माण गरेको थियो । अस्पताल घोषणा भएपछि डाक्टरहरुको दरबन्दी थप गरी स्वास्थ्यसेवालाई प्रभावकारी बनाइएको हो । हाल सो अस्पतालमा बालरोग विशेषज्ञ डाक्टर जीवन खरेलसहित ६ जना मेडिकल अधिकृत तहका डाक्टर कार्यरत छन् भने फिजिसियन र स्त्रीरोग विशेषज्ञ डाक्टरहरुले समेत सेवा दिँदै आएका छन् ।
डाक्टर र स्वास्थ्यकर्मी गरी ४० जना कर्मचारी कार्यरत सो अस्पतालले ओपिडी, आकस्मिक, प्रसूति, सुरक्षित गर्भपतन, अत्याधुनिक ल्याब, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, रेबिन रोगविरूद्धको भ्याक्सिन दिँदै आएको मेसु खरेलले जानकारी दिए । ‘उपचारमा आएका बिरामीलाई सकभर रिफर गर्न नपर्ने गरी स्वास्थ्यसेवा प्रदान गरेका छौँ’, मेसु खरेलले भने, ‘उपचारमा आएका १० प्रतिशत मात्र बिरामी रिफर भएर अन्य अस्पतालमा जाने गरेका छन् ।’ उनले स्थानीय सरकारको सहयोगका कारण एकपछिअर्को गरी स्वास्थ्यसेवालाई परिष्कृत गर्दै आएको बताए ।
कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले उपचारका लागि भरतपुर जान नपर्ने गरी विशेषज्ञ सेवा थप गर्दै लैजाने बताए । अस्पतालमा स्वास्थ्यसेवा विस्तार र परिष्कृत गर्दै लैजाने गरी नगरस्तरीय योजना बनेको उनको भनाइ छ ।
१५ शøयाको सो अस्पतालमा पाँचवटा बेड आकस्मिक कक्षामा रहेका छन् । चौबिसै घन्टा सेवा प्रदान गर्दै आएको सो अस्पतालमा कालिका नगरपालिकाले नगरभित्रका करिब एक हजार घरधुरीको निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।
अस्पतालका जनस्वास्थ्य निरीक्षक विश्वनाथ रेग्मीले सञ्चालन गरेको सो कार्यक्रममा उपमेयर विमला तामाङ, वडाध्यक्षहरु टीकाराम रेग्मी, चित्रबहादुर मगर, कार्यपालिका सदस्य ज्योति सुनार, शान्ति महतो, स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीलगायतको उपस्थिति थियो ।









