‘ट्यालेन्ट शोमा’ सप्तगण्डकी क्याम्पसका दुई दर्जन बढी विद्यार्थीले देखाए आफ्नो प्रतिभा

चितवन । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनरत दुई दर्जन विद्यार्थीहरुले गायन, नृत्य, सांस्कृतिक नाँच, कवितालगायत क्षेत्रमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । क्याम्पसको ३७ औं वार्षिकोत्सवको अवसरमा क्याम्पसले आयोजना गरेको खेलकुद सप्ताह र ट्यालेन्ट शोमा विद्यार्थीहरुले विविध क्षेत्रमा आफ्नो प्रतिभा प्रस्फुटन गरेका हुन् ।

कार्यक्रममा कक्षा ११ देखि स्नातक तह सम्मका विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेको कार्यक्रम संयोजक तथा क्याम्पसको अतिरिक्त विभाग प्रमुख भूपेन्द्र खड्काले जानकारी दिए । कार्यक्रम संयोजक खड्काले भने, ‘विश्वविद्यालय तथा क्याम्पसहरु प्राज्ञिक उन्नतिको थलो मात्र होइनन् सबै विद्यार्थीमा रहेको हरेक क्षमतालाई विकसित गर्ने अवसर दिनुपर्छ । सप्तगण्डकी क्याम्पसमा राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने विशेष खुबी भएका प्रतिभावान् विद्यार्थीहरु पाउँदा निकै खुसी भएको छु ।’ यस्ता कार्यक्रमहरुलाई नियमित क्यालेन्डरमा उल्लेख गर्नुपर्ने उनले बताए ।

त्यसैगरी शिक्षक कर्मचारी र सप्तगण्डकी अल्मुनाई बीचमा भएको मैत्रीपूर्ण भलिबल खेलबाट उद्घाटन गरिएको खेलकुद सप्ताहमा छात्रतर्फ ११ समूह बीच भएको प्रतिस्पर्धामा भलिबलमा कक्षा ११ म्यानेजमेन्ट पहिलो, बीबीएस पहिलो वर्ष दोस्रो र होटल म्यानेजमेन्ट कक्षा १२ तेस्रो भएका छन् । भलिबल खेलमा कक्षा ११ का शिवलाल चेपाङ उत्कृष्ट खेलाडी बने ।
६ समूह सहभागी छात्रा भलिबलतर्फ बीए तेस्रो वर्ष पहिलो, बीएड पहिलो वर्ष दोस्रो र तेस्रो बीबीए पहिलो समेस्टर तेस्रो भएका छन् । छात्रा भलिबलमा उत्कृष्ट खेलाडी मन्दिपा विश्वकर्मा भइन् ।
त्यस्तै छ समूह सहभागी बास्केटबल प्रतियोगितामा छात्रतर्फ बीबीएस पहिलो वर्ष पहिलो, बीबीएस तेस्रो वर्ष दोस्रो र बीबीए आठौं सेमेस्टर तेस्रो भएका छन् भने तीन समूह सहभागी छात्रा बास्केट बलमा १२ व्यवस्थापनले प्रथमको उपाधि चुमेको छ । छात्रा बास्केट बलमा उत्कृष्ट खेलाडीको उपाधि लेरिजा कार्कीले चुमिन् ।

१० टिमबीच भएको प्रतिस्पर्धामा फुटसल छात्रतर्फ कक्षा १२ शिक्षा पहिलो, दोस्रो बीएस्सी पहिलो वर्ष, बीबीएस पहिलो वर्ष तेस्रो भएका छन् । फुटसलमा उत्कृष्ट खेलाडीको उपाधि मनिष गुरुङले जितेका छन् । सात टिमबीच भएको फुटसल छात्रामा भने बीएड तेस्रो वर्ष पहिलो , दोस्रो बीबीए पाँचौ सेमेस्टर दोस्रो र बीबीए पहिलो सेमेस्टर तेस्रो बन्न सफल भएका छन् । छात्रातर्फ फुटसलमा उत्कृष्ट खेलाडी सन्ध्या पौडेल बनेकी छन् । ५० बढीको सहभागिता रहेको सर्टफुट प्रतियोगितामा छात्रतर्फ , मिलन गुरुङ पहिलो, सुशिल श्रेष्ठ दोस्रो, प्रवेश रानाभाट तेस्रो बन्न सफल भए । छात्रातर्फ भने पहिलोमा शिभा अधिकारी पहिलो, दोस्रोमा सदिक्षा गुरुङ, तेस्रोमा पवित्रा उप्रेती बनिन् ।
४५ खेलाडी सहभागी टेबल टेनिसतर्फ छात्र तर्फ प्रदिप तामाङ बीएड तेस्रो वर्ष पहिलो, सुभाष ढकाल दोस्रो, राजन मल्ल तेस्रो भएका छन् । टेबल टेनिस छात्रा तर्फ भने सन्ध्या पौडेल पहिलो, आश्मा थापा मगर दोस्रो र स्मृति कार्की तेस्रो भएका छन् ।

विजयी खेलाडी र समूहलाई सप्तगण्डकी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापा, क्याम्पस प्रमुख खिमलाल दाहालले नगद पुरस्कार, प्रमाणपत्र र पदक प्रदान गरेका छन् । शिक्षा विभाग प्रमुख दिपक बाबु श्रेष्ठ, व्यवस्थापन संकायका उपप्राध्यापक विष्णु ज्ञवाली, नेपाली विभागकी सहायक प्राध्यापक गंगा भट्टराई सुवेदी, विज्ञान विभागका उपप्राध्यापक जीवन गिरी र सहायक प्राध्यापक गणेश पौडेलले कार्यक्रम सञ्चालनमा सहजीकरण गरेका थिए । सामूहिक खेलमा पहिलो, दोस्रो र तेस्रो हुने समूहले क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने सर्टफुट र टेबल टेनिसमा भने तीन हजार, दुई हजार र एक हजार पुरस्कार जितेका छन् । २४ बाट सुरु भएको खेलकुद सप्ताह बिहीबार सकिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको