मानवता हराएको देश

देशको मुहार फेर्न अनि नवीन मार्ग केर्न
उभिएको हुन्छ कानुन
तिनै कानुनको धरातलमा टेकेर
न्याय र अन्याय छुट्याउन
बसेको हुन्छ न्यायालय
दिनरात भोक प्यास नभनी खटिएका हुन्छन्
राष्ट्रको सुरक्षाका लागि प्रहरी प्रशासन
तर विडम्बना
तिनै देशमा कानुन नै उलंघन गरी
यदाकदा निस्कन्छ एक राक्षसी मानव
आफ्नो भोक प्यास मेटाउन
मदिराको नशामा लठ्ठ भएर मध्यरातमा
निद्राले आक्रान्त परेकी नारीको
शरीरलाई शिकार बनाउँछ र
लुट्न पुग्छ इज्जत र अस्मिता ।

जोड जोडले चिच्याउँछे उनी बचाउ बचाउ भन्दै
मागीरहन्छे उनी सहयोगका अनगिन्ती हातहरू
तर उनका बोली सुनिदिने कोही हुँदैनन्
उनका भावना बुझिदिने कोही हुँदैनन्
होस हवास गुमाएर एकतमासले शिकार
गरिरहन्छ त्यो मानवरुपी राक्षस
फोरिदिन्छ आँखा भाँचिदिन्छ गर्दन
अनि भाँचिदिन्छ हात खुट्टाका
बलिया बलिया जोर्नीहरू
क्रूर बन्न पुग्छ शरीरका गोप्य अंगहरु
बस्छ शरीरभरि दाँतले टोकेका सयौं डाम
डाम सँगै लाग्छ शरीरमा नमेट्टिने
एक भयानक कालो दाग
आफूलाई सर्वश्रेष्ठ बहादुर ठानेर गरिरहन्छ
कोमल शरीरमाथि बलात्कार
पटक पटक पटक कयौं पटक
पोख्खिरहन्छ आँसु बलिद्र धारा बनी
आँखाका डिलबाट
बगिरहन्छ रगत खहरे खोला बनी
कोमल दिलबाट

तड्पिरहन्छे उनी जीवनको अन्तिम पल सम्म
खोजिरहन्छे छुटकाराका वैकल्पिक मार्गहरू
र अन्त्यमा आफूलाई बचाउन नसकेर
निरिह र लाचार भई सुम्पिन पुग्छे
तिनै राक्षस सामु आफ्नै घाइते शरीर
दुष्ट मानव मदिराको नशामा लठ्ठ भई
अस्मिता र इज्जत लुटिरहन्छ
बिचरी अबला नारीको तनबाट
रगत र आँसुको मूल फुटिरहन्छ

अस्पतालको शैयामा छट्पटाउँदै छट्पटाउँदै
मृत्युको विमान चढिसकेका बिरामीहरुलाई
बचाउन ईश्वरको दोस्रो रूपमा उभिएकी
नर्स डाक्टर त सुरक्षित हुन्नन् भने
कसैले भनिदेऊ त
यो मानवता हराएको देशमा
कहाँ हुन्छे त नारी सुरक्षित ?

– पारस अर्याल (सारथी)
गण्डकी गाउँपालिका -७, गोरखा
हाल
रामपुर, चितवन

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको