फूलको थुँगा थुङ्गा मिलेर सुसजित मेरो देश
विश्वकै सुन्दर अनि रमणिय लाग्दछ
हिमालको फेदीमा बसेर मुस्कुराई रहेको
स्वर्गको टुक्रा जस्तो मेरो देश
जसलाई हेर्दा मात्र पनि
मन प्रफुल्लित भएर आउँदछ
चार जात छत्तिस वर्णले भरिपूर्ण मेरो देश
जहाँ ढकमक्क फुलेका छन् अनगिन्ती
रंगी विरंगी लालीगुराँस मखमली
सयपत्री लगायतका फूलहरू
जसलाई सम्झँदा मात्र पनि आफू कतै
स्वप्न बगैंचामा हराए जस्तो लाग्दछ ।
तर अफसोच,
यिनै सुन्दरम प्रकृतिमा पनि छल्किरहेछन्
अनेकौं छालहरू अनि टल्किरहेछन्
दर्जनौं दर्जन वेदनाका प्रतिविम्बहरु
कतै जलप्रवाहको त कतै
मौसमी फेरवदलको असर
जब उर्लियो आकाश अनि बर्सियो पानी
पानी सँगै मिसिन थाले अनगिन्ती
पातपतिंगर, काठमुडा र ढुंगा माटोका थुप्राहरु
र अन्त्यमा बन्न थाल्यो एक खहरे भेल
अनि तिनै भेलमा
परेर सडक छेउबाटै चिप्लिन पुग्यो
एक यात्रुबाहक रात्रिकालीन बस
अनि अर्का तिर तिनै मौसमी फेरबदलका
कारण नेपाली आकाशबाट
अनियन्त्रित भई विस्फोटमा परि
तहसनहस बन्यो एक विमान
तब गुन्जिन थाले दुवैतिर नमिठो गरी
चित्कारका ध्वनिहरू
पोखिन थाले आँसुका भेल, पसिनाका रंग
अनि रगतका खोलाहरु
जहाँ यात्रुहरु आफ्नो स्वतन्त्रता गुमाएर
बगिरहे दुःखका तलाउमा ।
निस्कनु थियो तिनै दलदलबाट अनि
बाँच्नु र बचाउनु थियो आफ्ना परिवारजनलाई
पुग्नु थियो गन्तब्य अनि सम्हाल्नु थियो
दुःखले आर्जेको सानो संसार जहाँ
फैलिएका थिए दर्जनौं दर्जन खुसीका रंगहरु अनि
भरिभराउ थिए जिम्मेवारका खुत्रुकेहरु
तर केही क्षणमै जब सल्कीयो काल आँतमा
सकियो पुरै शरीर केवल बाँकी रह्यो आत्मा
अधुरै रहे मनमा अल्झिएका कयौं सपनाहरु
अनि बल्झिरहे आलो घाउहरू
तिनै मौसमी चपेटामा परि
बिहेको भोलिपल्टै सिन्दुर पुछिएर
भावविभोर बनेकी छे चेली
जसलाई भेट्नु थियो आफ्नै अंगरक्षक
अनि सुनाउनु थियो हजारौं प्रेमील कथाहरू
उता श्रीमान् अनौंठो कालमा परेका छन्
अनि यता चेली मौसमी बेहालामा परेकी छे
ढल्न बाँकी बुढो रुख जस्तै शरीर लिएर
हिँडेका छन् एक वृद्ध बाजे जसलाई बुझ्नु थियो
आफ्नै छोराको लास जो भर्खर तिनै भेलमा
परेर बेपत्ता भएको छ
उता छोराको शरीर त्रिशूलीमा गाडिएको छ
यता बाबुको मन विचलित भई ढाडिएको छ
उमेरले डाँडा माथिको डुब्न लागेको घाम
बनेको शरीरले अफ्ट्यारो गरी खुईखुई गर्दा
मात्र पनि अनौंठो गरी
पहाडको सुस्केरा बनेको छ
जसका चाहना थिए होलान् आफ्ना सन्तानलाई
देश चिनाउने संसार घुमाउने अनि
सिकाउनु थियो
संस्कार र रीतिरिवाजका पाठहरु
बाँकी नै थियो
छोराका मनमा खुसीका रंगहरु छर्न
सँगै मिली सयौं जंघार तर्न
अधुरै रहे
ती नयनहरुमा प्रगतिका ज्योति देखाउन
अनि सोचे जति सफलताका मार्ग लेखाउन
लौरीको साहारामा बाँचेकी छे
अर्की बुढी आइमाई
जसलाई खोज्नु छ आफ्नै सन्तान
जो मौसमी चपेटामा परि आफ्नो पखेटा
गुमाएर विलाएकी छे
चिन्नु परेको छ आफ्नै रगत बाल्यकाल भरी
दसधारा दूध चुसाएको सम्झिएर
बाँकी थियो उच्च शिक्षा दिनका लागि
अनि उनका र घरका कयौं सपना
पुरा गर्नका लागि
बाँकी नै थियो अन्माएर पराई घर पठाउन
कति रहर थिए होलान्
चुरा र पोते लगाएको अनि सीउँदो भरिएको हेर्ने
अक्षर त फुटाल्ने बनाएकी थिई तर बाँकी नै
थियो राम्ररी आँखा देख्ने बनाउन
आज तिनै चेली
सधैंका लागि अस्ताएकी छे
तिनै सन्तानलाई सम्झिएर बाबुआमा
आँसु सक्किएर रसाउन छोडेका आँखा
अनि मलिन अनुहार बोकेर खोजिरहेछन्
खुसीका लहरहरु यिनै विवशताको भुमरीमा
कति सिन्दुर पुछिएर विधुवा भएका छन्
कति जीवन सँगिनी गुमाएर विदुर बनेका छन्
कतिका कोख रित्तिएको छ अनि
कति टुहुरा बनेका छन्
त्यसदिन थाहा भयो कि घाम अस्ताउँदो पनि रहेछ
न आकाशमा सुरक्षित छ न त सडकमा
अनि देशको सर्वश्रेष्ठ पदमा उभिएको सरकार,
सदनमा बसेर यो निर्णय गर्छ की
आकाशमा उडेको हवाईजहाजको दुर्घटनामा परेर
मरेकाहरुमा समर्पितका निम्ति आधा झण्डा झुकाउने छौ भनेर
मर्न त दुवै एकै पटक परेर मरेका थिए तर पनि किन
सरकार भेदभाव गर्दछ
तर किन सडक दुर्घटनालाई व्यवस्था गरिरहन्छ
न त कबाडी नेताहरु फेरिए
न त देशको शासन नै फेरियो
फेरिए त केवल चप्पल पट्काएर शहर पसेका
नेताहरुको स्तर उन्नती र अवस्था
सरकार,
ओ देशको सरोकार नभएको सरकार
यो कुरा स्पष्ट सँग भनिदेऊ त
के यो साँच्चै न्याय हो त ?
– पारस अर्याल सारथी
गण्डकी गाउँपालिका -७, गोरखा
हाल
रामपुर, चितवन