काठमाडौं । पिता जगबहादुर कुँवर र माता मानकुमारी कुँवर (बस्नेत) का दुइ छोरा र छ जना छोरिमध्ये तेश्रो सन्तानका रुपमा आजभन्दा ३८ वर्ष अगाडि फाल्गुणशुक्ल दशमी, शनिबारका दिन जन्मेकी यमकला स्त्री न्याय र सत्यका पक्षमा लाग्ने प्रत्येक व्यक्तिका लागि आदर्श तथा प्रेरणाको श्रोत हुन् ।
खानीबाट हजारौं टन धाऊ उत्खनन गरेर त्यसलाई पोलेर, गालेर, पिटेर निख्खर नम्वरी सुन निकाले झैं वा भूगर्भको अत्यन्त गहिरो भागमा करोडौं वर्षसम्म उखुम ताप र चाप सहेको कार्वन तत्ववाट बहुमुल्य हिराको निर्माण भएझैँ अनेकौं हण्डर ठक्कर र कष्ट भोग्दै संगतआश्रमको जीवनमा आएर सार्थक जिवन जिउनेहरु मध्ये एक महत्वपूर्ण नाम हो – यमकला स्त्री । अर्को अर्थमा भन्दा – कर्मक्षमताका आधारमा कानुनी अधिकार सहित आफ्नो रुची र हैसियत अनुसारको जीवन बाँच्न पाउने तथा वंश परम्परालाई स्वीकार गर्दै लिङ्गको आधारमा ‘स्त्रि’, ‘पुरुष’ र ‘उभय’ जस्ता थर लेखेर संसारको सबै साँस्कृतिक विचलनको अन्त्य गरी संगत-संस्कृतिका माध्यमबाट समन्वयात्मक र समतामुलक समाज निर्माणका लागि अनवरत खटिरहने प्रबल इच्छाशक्तिको अर्को उपज – यमकला स्त्री हो ।
आफ्नो घरपरिवारवाटै सनातन संस्कार र आद्यात्मिक ज्ञान हासिल गरेकी र औपचारिक रुपमा नर्सिङ शिक्षा हासिल गरि जागिरको क्रममा लुम्बिनी अस्पताल वुटवलमा ७ वर्ष र अन्य केही अस्पतालमा सेवा गरेकी उनले २०६५ सालपछि जडिबुटिजन्य नेपाली उत्पादनलाई विश्व बजारमा पुर्याउने योजना सहितको हर्बो ईन्टरनेसनल प्रा.लीको व्यवसायमा आवद्ध भएर काम गरेकि थिइन् । यसैविच २०७१ सालदेखि उनको ममतामयी आमा अचानक क्यान्सर रोगले थलिने अवस्था आयो । उपचारका क्रममा उनले धेरैतिर भौतारिनु पर्यो, तरपनि अपेक्षित उपचार हुन सकेन । आमाको उपचार क्रममा २०७२ सालतिरवाट उनी आफैंसमेत क्यान्सरवाट संक्रमित हुनपुगिन् । यसरि एकपछि अर्को बज्रपातका कारण बिलखबन्धनमा परेपछि उनी जयसंगतआश्रम आईपुगिन् । उनको एकातिर आफ्नै स्वास्थ्य अवस्था अत्यन्तै दयनीय र उपचारको क्रममा थियो भने यसैविच २०७३ सालमा मातृशोक परेको थियो । यसरि आर्थिक अवस्था निकै कमजोर बनिसकेको अवस्थामा समेत हरेश नखाइ योग साधनामा लागेकी ऊनी अहिले एक सिद्धहस्त र पोख्त साधिका हुन् ।
लामाटार, मालिगाउँ, मगन्त गाउँ लगायतका क्षेत्रमा संगत-आश्रमलाई स्थापित गराउन उनको अतुलनीय भुमिका देखिन्छ । “ॐ सहनाववतु सहनौ भुनक्तु सहवीर्य करवावहै तेजस्विनावधीतमस्तु मा विद्विषावहै, ॐ शान्तिः शान्तिः शान्तिः” भन्ने मूल मन्त्रलाइ अंगिकार गरि विभिन्न धार्मिक र सामाजिक संघ-संस्थामा सक्रिय रहँदै आएकी साधिका यमकला स्त्री विभिन्न स्कुल र क्याम्पसहरुमा योग, ध्यान, मनोवैज्ञानिक परामर्शका अलावा अन्य सहयोगमा समेत उदारतापूर्वक लाग्दै उदाहरणीय कार्य गरेको देखिन्छ । संगत आश्रमको ब्यबस्थापक पदमा रहि विभिन्न क्षेत्रमा समाजसेवी र धार्मिकजनहरूको सहयोग जुटाएर शारीरिक अस्वस्थताका बाबजुद पनि असहायहरुको साहाराका लागि देशव्यापी रुपमा खटिरहेकी उनको जति प्रशंशा गरेपनि कमै हुन्छ । ब्यक्तिगत भोग र सांसारिक मोहलाई त्यागेर जन्म र गुणको आधारमा मात्र मानवको परिचय निर्धारण हुन्छ भन्ने मान्यतामा अडिग रहेकी यमकला कुँवरले थर मोहबाट समेत टाढा भएर “स्त्री” लेख्ने गरेकी छन् । योग साधनासंगै आजीवन मानवसेवा, शिक्षा र सामाजिक कार्यमा तल्लिन रहने उनी कसैको नक्कल होइन आफ्नो सनातन धार्मिक परम्परा र मानवतावादी सोचलाई आत्मसाथ गरि धन-बल-यशको घमण्ड नगरी “सर्वजन हिताय”को अवधारणा अनुरुप अरुमा समेत परोपकार र पुण्यको भावना सिञ्चित गराउन प्रयत्नरत छन् ।
मिडिया र सामाजिक सञ्जाल रम्न नचाहने यमकला बाल्यकालदेखि आफू हुर्किंदै आएको आध्यात्मिक तथा नैतिक गुणको उपज सबै सँग समन्वय गर्ने संगतवादी सोचलाई संस्थागत रुपमा अगाडि बढाउन विभिन्न धर्मगुरुहरूलाई समेत उत्प्रेरित गर्ने व्यक्तिको रूपमा स्थापित छन् । ब्यक्तिगत भोग र सांसारिक मोहलाई त्यागेर मानसिक र भौतिक समृद्धि प्राप्त गराउन राजनीतिक दल र नेपालका राजनेताहरूमा सद्बुद्धि फिंजाउने मिसन तयार गर्नु उनको अर्को लक्ष्य रहेको छ ।
संगत-आश्रमका संस्थापक तथा पूज्यगुरु पुष्पराज पुरुषले भनेझैं – “जसरी बगेको नदिको पानी एकपटक सागरमा मिलेपछि सोही रुपमा फर्काउन कठिन छ, जसरि खाएर पचाइएको अन्नलाई पुनः उहि रुपमा प्राप्त गर्न सकिँदैन, उसैगरि बितेका पलहरू पनि कुनै रीतले फर्काउन सकिँदैन । मानिसले आफ्ना कर्मलाई निर्दिष्ट लक्ष्य सहित ‘भोली’का निम्ति सोचेर मात्र खर्चनु पर्छ ।” यसै भावनालाई अंगिकार गरि सनातनीहरुको साझा संगत-आश्रममा योग, प्राकृतिक चिकित्सा र आयुर्वेदजस्ता प्रकृतीमैत्री उपचार पद्धतिको विकास गर्दै सन्त जीवन बिताउने, आश्रमहरूको निर्माण तथा बिस्तार गरि जनजीवनलाई सरल बनाउने गुरुयोजनालाई उचाइ प्रदान गर्न यमकला दिलोज्यानले लागिरहेकी छन् ।
साधिका श्री यमकला स्त्रीले संगत-आश्रमको सिद्धान्तबमोजिम हिंसामुक्त, कुलत-बिषादी आदिवाट मुक्त, सवैखालका अभाव, बिभेद आदिवाट मुक्त र समृद्ध नेपाल निर्माणको गुरुयोजना सहज ढंगवाट कार्यान्वयन गर्नुका साथै यस गौरवमय र स्तुत्य कार्यको सफलताका लागि अग्रिम बधाई सहित सुस्वास्थ्य, दीर्घायु र यशोवृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु ।
-सत्यता ढकाल रत्ननगर -१५, चितवन









