चितवन । चितवनको कालिका नगरपालिकाले किसानलाई कृषि मेशिनरी औजार वितरण गरेको छ । नगरका किसानलाई व्यावसायिक बन्न प्रेरित गर्ने उद्देश्यले चालु आर्थिक वर्ष २०८० ८१ को वार्षिक स्वीकृत नगर स्तरीय कार्यक्रम अन्र्तगत रु २ लाख ९८ हजार बराबरको कृषि विकास शाखाले बुधवार कृषि सामग्री वितरण गरेको हो ।
नगर स्तरीय कार्यक्रम अन्तर्गत लागत साझेदारी ५० प्रतिशत अनुदानमा नगर भरिका किसानहरुलाई सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख लक्ष्मण पोखरेलले जानकारी दिए । किसानलाई ४२ थान इलेक्ट्रिक स्प्रे ट्याङ्की (औषधी छर्ने), १३ थान डिजिटल काँटा (तराजु) गरी ५५ जना किसानलाई वितरण गरिएको छ ।
किसानलाई नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख बिमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मीले सो सामग्री हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले व्यावसायिक किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएको बताए । कृषि क्षेत्रबाट मात्र समग्र देशको आर्थिक विकास हुने उल्लेख गर्दै रेग्मीले आगामी वर्ष पनि नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाउने बताए ।
“किसानका समस्या पहिचान गरी आगामी वर्ष थप कार्यक्रम ल्याउने योजना छ”, उनले भने ।
कार्यक्रममा उप प्रमुख बिमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम लगाएतले मन्तव्य राखेका थिए ।
कालिका वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यपालिका सदस्य सम्झना परियार, शान्ति महतो, पूर्वाधार शाखा प्रमुख ईन्जिनियर किशोर खतिवडा, पशु शाखा प्रमुख डा.राजु प्रसाद न्यौंपाने, कृषकहरुको उपस्थिति रहेको थियो ।
प्राविधिक सहायक गौरव राना भाटले सञ्चालन गरेको कार्यक्रममा कृषि शाखा प्रमुख पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।