
काठमाडौं । नेकपा एमालेले पार्टीविरुद्ध गुटबन्दी गर्दै समानान्तर गतिविधि गरेको भन्दै वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ४ जना नेताहरुलाई स्पष्टीकरण सोधेको छ ।
एमालेले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पत्र पठाएर स्पष्टीकरण मागेको हो । पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टीकरणपत्र सम्बन्धित नेता तथा उनीहरुका घर–घरमै पुगेका सचिवालयलाई बुझाएका छन् ।
यद्यपि नेता घनश्याम भुषालको भने मोबाइल फोन स्वीच अफ भएका कारण पत्र बुझाउन नसकिएको बताइएको छ । वरिष्ठ नेता नेपालका स्वकीय सचिव नितेज पौडेल र सुरेन्द्र पाण्डेका स्वकीय सचिव सञ्जिव पाण्डेले उक्त पत्र बुझेका छन् भने भीम रावलले पत्र अस्वीकार गर्दै पत्र बोकेर गएकाहरुलाई आफ्नो निवासमा भित्र छिर्नै नदिएको बताइएको छ ।
शनिबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पार्टीविरुद्ध गुटबन्दी गरेको, समानान्तर कमिटीहरु बनाउन थालेको र पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको भन्दै चार नेतासँग स्पष्टीकरण लिने निर्णय गरेको थियो ।
स्पष्टीकरणपत्रमा ती अभियोगमाथि चित्त बुझ्दो स्पष्टीकरण तीन दिनभित्र पेश गर्न भनिएको छ । महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्रमा तीन दिनभित्र चित्त बुझ्ने जवाफ नआएमा कारबाही गर्ने स्पष्ट पारिएको छ ।