सिन्धुली । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले आज आफ्नो जन्मदिनका अवसरमा ट्रष्ट स्थापना गर्नुभएको छ ।
आफू प्रमुख पदमा निर्वाचित भएपछि प्राप्त भत्ता खुत्रुकेमा जम्मा गर्दै आएका उहाँले भत्ताको पैसाले ५५औँ जन्मदिनका अवसरमा ट्रष्ट स्थापना गर्नुभएको हो । उक्त खुत्रुकेमा आजसम्म रु चार लाख ५७ हजार ७२० जम्मा भएको प्रमुख खत्रीले जानकारी दिनुभयो ।
उहाँले उक्त रकमबाट ‘खड्ग शान्ता नवप्रवर्तन ट्रष्ट’ स्थापना गरिएको जानकारी दिनुभयो । ट्रष्टको अध्यक्षमा सूर्यबहादुर पाख्रिन, सचिवमा हरि अधिकारी र कोषाध्यक्षमा अम्बिका खत्रीलाई चयन गरिएको छ ।
आफ्ू कम्युनिष्टको नेता भएको र सदैव जनताको सेवा गर्नका लागि ट्रष्ट स्थापना गरेको उहाँले जानकारी दिनुभयो । जनताको मायाले यो स्थानसम्म आएको बताउँदै उहाँले भोलिका दिनमा पनि कुनै पदमा नभए पनि जनताको सेवा गर्नका निमित्त आफूले ट्रष्ट स्थापना गरेको जनाउनुभयो ।
विसं २०७४ जेठ ५ गते कार्यभार सम्हाल्नुभएका खत्रीले आफूले पाएको भत्ता खुत्रुकेमा जम्मा गर्नुभएको थियो । आगामी दिनमा पनि भत्ताको पैसा खुत्रुकेमा जम्मा गर्ने उहाँले बताउनुभयो । विकास निर्माणको पैसा भने उक्त ट्रष्टमा नहालिने उहाँको भनाइ छ ।