भरतपुरको कोभिड-१९ परीक्षण प्रयोगशालाबाट बिदाइ भइन् डा नितु

चितवन । कोरोना संक्रमण भए नभएको जाँच्ने जिम्मेवारी बोकेर महामारीमा आफूलाई साहसिक साबित गर्न सफल व्यक्ति हुन् डा. नितु अधिकारी । भरतपुरमा स्थापित कोरोना परीक्षण ल्याबको प्रमुख रहेकी उनी सोमबार त्यहाँबाट बिदा भएकी छन् । ल्याब स्थापना हुँदादेखि नै सक्रिय उनले हालसम्म ३९ हजार स्वाब परीक्षण गरेको बताइन् ।

‘कोरोना महामारीमा देशलाई आवश्यक पर्दा आफू हाजिर भएर काम गर्ने मौका पाएँ त्यो नै मेरो लागि खुसीको कुरा हो, कोरोना ल्याबबाट बिदाइ हुँदै गर्दा उनले भनिन्, ‘यस्ता संकटहरु फेरि फरि नआउला भन्न सकिन्न, म जति खेर पनि सेवामा समर्पित हुन्छु ।’ ‘२४ घन्टा पिपिई सेट लगाएर बस्यौँ, कति रात अनिदो काम गर्‍यौँ , जनताको लागि भनेर पानी र खानाखाजा पनि भनेनौँ, सोच्नुस् हामी कति क्रियाशील थियौँ होला’, उनले भनिन् ।

महामारीमा उनी परिवार र ज्यान पनि नभनी कोरोना परीक्षणमा लागिन् । एमडी अध्ययनपश्चात् महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नु उनको लागि चुनौतीको विषय थियो । सबैको ध्यान कोरोनातर्फ केन्द्रित हुँदा उनलाई पनि धेरै दबाब झेल्नु परेको थियो । तर, पनि आफूलाई अब्बल र साहसिकरुपमा स्थापित गर्न डा. अधिकारी सफल भइन् ।

आराम गर्ने पनि समय नहुँदा आफूहरु शारीरिक तथा मानसिक रुपमा प्रेसरमा काम गर्नु परेको उनको भनाइ छ । निरन्तर सक्रियताका बाबजुद पनि कहिलेकाहीँ ल्याबमा कार्यरत कर्मचारीको बारेमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका नकारात्मक समाचार तथा टिप्पणीले पीडा हुने गरेको उनको भनाइ छ ।

डा. अधिकारी एक महिनाअघि आफैँ कोरोना संक्रमित भइन् । ‘ल्याबबाट भन्दा पनि अस्पताल आउजाउ गर्दा भएको कन्टयाक्ट ट्रेसिङले ममा कोरोना देखिएको बुझाइ छ’, उनले भनिन् ।

समूह कार्यमा पूर्ण रहेको र कामप्रति उच्च लगाव भएकाले कोरोना ल्याबमा कुनै पनि समयमा समस्या नदेखिएको उनीसँगै कार्यरत प्राविधिक सुमित्रा पौडेलले बताइन् । ‘हामीले कति मेहनत गर्छौं होला त्यसको लेखाजोखा नै छैन ’, उनले भनिन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको