काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौं उपत्यकामा पुस १४ गते आमसभा गर्ने भएको छ ।
संसद विघटनको विरोधमा दाहाल–नेपाल समूहले पुस १४ गते आमसभा गर्ने जनाएको छ ।
आमसभालाई दाहाल, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरूले सम्बोधन गर्नेछन ।
युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटाले आमसभामा शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने बताए ।
उपत्यकासहित छिमेकी जिल्लाबाट जनतालाई बोलाएर आमसभा गर्ने तयारी गरिएको छ ।
संसद पुनःस्थापनाका लागि दबाब दिन ५० हजारभन्दा धेरै नेता कार्यकर्ता उतारिने दाबी दाहाल–नेपाल समूहको छ ।
उपत्यका विभिन्न स्थानबाट निकालिएको जुलुस दिउँसो १२ बजे भृकुटीमण्डपमा पुगी आमसभामा परिणत हुने जनाइएको छ ।
टेकु, कीर्तिपुरबाट निस्कने जुलुसमा सीतापाइला, थानकोट, धादिङ र मकवानपुरबाट आउनेहरु सहभागी हुनेछन् ।
नयाँ बानेश्वरबाट आउने जुलुसमा भक्तपुर, काभ्रे, रामेछाप र दोलखाबाट आउने सहभागी हुनेछन् ।
मैतीदेवीबाट निस्कने जुलुसमा साँखुबाट आउने सहभागी हुनेछन् ।
लैनचौर, बालाजुबाट निस्कने अर्को जुलुसमा बुढानीलकण्ठ, नुवाकोट, रसुवा, टोखा र नगरकोटलगायत क्षेत्रबाट आउनेहरु सहभागी हुने छन् ।
विद्यार्थी र युवा बागबजार, त्रिचन्द्र कलेजबाट जुलुस निकालेर भृकुटीमण्डप पुग्नेछन् । आमसभामा सहभागी हुन नेताहरू उपत्यकाका छिमेकी जिल्लामा परिचालन गरिएको जनाइएको छ ।









