काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोक्नुभएको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भई प्रधानमन्त्रीबाट सिफारिस भएबमोजिम पहिलो चरणमा आगामी २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचनको मिति तोकिएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले आज जारी गर्नुभएको विज्ञप्तिमा संसदीय प्रणालीको मर्म एवं मूल्यमान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकको अभ्यासबमोजिम सङ्घीय संसद्को वर्तमान प्रतिनिधिसभा विघटन गरी अर्काे प्रतिनिधिसभाको निर्वाचन मिति तोक्नुभएको जनाइएको छ ।
मन्त्रिपरिषद्को आज बिहान भएको बैठकको निर्णयका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो सिफारिस गर्नुभएको हो । गत २०७४ मङ्सिर ४ गते विद्यमान प्रतिनिधिसभाको निर्वाचन भएको थियो ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer