कोरोना परीक्षण घट्दै, मृत्युदर बढ्दै, दोस्रो लहरको जोखिम

काठमाडौं । सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको देखिए पनि मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन्झन् बढ्दै गएको छ ।

शनिबार मात्र १२ जनाको मृत्यु भएको छ । पीसीआर परीक्षण गराएकामध्ये शनिबारसम्म मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ ।

६ महिनायताको तथ्यांकअनुसार नोभेम्बरमा सबैभन्दा बढी ५ सय ७१ जनाको मृत्यु भएको छ । डिसेम्बरमा शनिबारसम्म २ सय ७१, अक्टोबरमा ४ सय ३९, सेप्टेम्बरमा २ सय ७०, अगस्टमा १ सय ७२, जुलाईमा २७ र जुनमा २९ जनाको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभरिको केस फ्याटलिटी रेट (सीएफआर) अर्थात् मृत्युदर ०.७३ प्रतिशत छ । जनस्वास्थ्यविद् एवं अनुसन्धानकर्ता वरिष्ठ जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसीका अनुसार काठमाडौं उपत्यकाको सीएफआर ०.६१ प्रतिशत, काठमाडौंको ०.५ प्रतिशत, ललितपुरको १.०१ प्रतिशत र भक्तपुरको १.१६ प्रतिशत छ । यस्तै वाग्मती प्रदेशको सीएफआर ०.६७ प्रतिशत छ ।

देशभर कोभिडले मृत्यु भएकामध्ये ८ सय ९० जना अर्थात् ५० प्रतिशत वाग्मती प्रदेशका छन् । यस्तै उपत्यकामा ६ सय ९२ जना अर्थात् ३९ प्रतिशतको मृत्यु भएको छ । काठमाडौं जिल्लामा मात्र नेपालभरि कोभिडले हुने मृत्युमध्ये २५ प्रतिशत छ ।

नोभेम्बर ४ मा ३० जनाको मृत्यु भएको थियो भने नोभेम्बर ३० मा २९ जना र नोभेम्बर २५ मा २८ जनाको मृत्यु भएको थियो । पछिल्लो एक महिनामा पीसीआर परीक्षण घटेकाले दैनिक संक्रमण दर भने कम देखिएको छ । विज्ञहरूले परीक्षण बढाउने हो भने संक्रमण दर बढी देखिने बताएका छन् । उनीहरूले संक्रमण दरमा वास्तविक कमी नआएकाले जनस्वास्थ्यको नियम कडाइपूर्वक पालन नगरे यसले सम्भावित दोस्रो लहर ल्याउन सघाउने चेतावनी दिएका छन् ।

उनीहरूले कोभिडको समग्र परीक्षणमा कमी आउनुका साथै सस्पेक्टेड केस (शंकास्पद संक्रमित) बाहेक दैनिक उल्लेख्य संख्यामा विदेश जान खोज्नेहरूले नै पीसीआर परीक्षण बढी गरेकाले संक्रमण दरमा कृत्रिम कमी देखिएको विश्लेषण गरेका छन् । एक सातायता मुलुकको दैनिक औसत कोभिड संक्रमण दर १३.९८ प्रतिशत छ ।

सातायता दैनिक औसत ५ हजार ७ सय ६४ नमुनाको मात्र पीसीआर परीक्षण हुँदै आएको छ । सरकारी तथ्यांकअनुसार शनिबार देशभरका ४५ सरकारी र ३५ निजी गरी कुल ८० वटा प्रयोगशालामा ४ हजार ७ सय ८० पीसीआर परीक्षण भएकामा ७ सय १० जनामा संक्रमण देखिएको छ । अतुल मिश्रले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको