काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक कार्यसूचि बिना नै शुरु भएको छ । धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा दिउँसो साढे एक बजेदेखी बैठक शुरु भएको हो ।
बैठकस्थलमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित सो गुटका शिर्ष नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने बैठक स्थल पुग्नु भएको छैन । उहाले बैठक बस्नु अघि कार्यसूचि तय गर्नुपर्ने अडान लिदै आउनु भएको छ । कार्यसूचि नै तय नगरी बैठक बसेर के गर्ने ? पार्टी भित्रको विवाद समाधान गर्ने कि त्यसलाई तल्लो तल्लो कमिटीमा लगेर विभाजनलाई मलजल गर्ने भन्दै प्रश्न उठाउनु भएको छ । तर, ओलीलाई जसरी पनि हटाउने र आफुहरु अध्यक्ष र प्रधानमन्त्री बन्ने ‘मिसन’मा लागेकाले बैठक विना कार्यसूचि बसेको केही नेताहरुको भनाई छ ।
हिजो बसेको नेकपा सचिवालय बैठकले ‘पार्टीमा देखिएको संकट निवारणका लागि दुवै अध्यक्षको प्रस्तावलाई स्थायी कमिटीमा पेस गर्ने’ निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भएको थियो । यसैबीच पार्टी कार्यालय आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यस क्षेत्रमा सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको छ ।