बर्दिबास । महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले घोषणा गरेको निषेधाज्ञाको अवज्ञा गर्दै बिहानैदेखि स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् ।
बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीका ६ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि हत्यारालाई कडा कारबाही तथा प्रहरीको बल प्रयोगविरुद्ध स्थानीयले मंगलबारदेखि प्रदर्शन जारी राखेका हुन् ।
प्रदर्शनलाई नियन्त्रणमा लिन मङ्गलवार प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारी सञ्जय भनिन् बुद्धिराज न्यौपानेको बुधवार बिहान उपचारका क्रममा मृत्यु भएसँगै आन्दोलन झन् चर्किएको हो ।
प्रदर्शनकारीले बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग ठप्प पारेका छन् । प्रदर्शनकारीले राजमार्गमा टायर बालेर बाटो अवरुद्ध गरेका छन् ।
उनीहरूले बालिकाको हत्यारालाई कडा कारबाही गर्नुपर्ने, प्रहरी दमन अन्त्य गर्नुपर्ने, गोली चलाउने प्रहरी तथा गोली चलाउन आदेश दिनेलाई तुरुन्त निलम्बन गरी कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन्।
त्यस्तै मृतक न्यौपानेलाई सहिद घोषणा गरी पीडित परिवारलाई उचित क्षतिपूर्तिसमेत दिन माग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधवार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) कृष्णबहादुर कटुवालका अनुसार निषेधाज्ञा बिहीबार बिहान ६ बजेसम्म जारी रहनेछ । सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ ।
ताजा समाचार
धेरैले पढेको
© 2024 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer