काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ जाँदै छन् । इलाम र ताप्लेजुङमा भइरहेका विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न प्रधानमन्त्री ओली आज सोमबार बिहान त्यसतर्फ जाने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ओलीकाे इलाममा सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम रहेको छ । यस्तै ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्ने साथै चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणको कार्यक्रम पनि रहेको छ ।
यसअघि यही मङ्सिर ५ गते प्रधानमन्त्री ताप्लेजुङ आउने कार्यक्रम स्थगन भएको थियो । कात्तिक २६ मा प्रधानमन्त्री ओलीले संखुवासभा भ्रमण गरेका थिए । त्यहाँ पनि बीओपीको निरीक्षण गरेका थिए ।
प्रधानमन्त्रीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई पनि ताप्लेजुङ र इलाम भ्रमणमा जानेछन् ।