गोर्खा ब्रुअरीको उत्पादनमा माल्टको सट्टा कनिका, विभागले दिएन बियरको मान्यता

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीका उत्पादन काल्र्सवर्ग, टुबोर्ग, गोर्खा, सानमिगल बियरमा माल्ट (प्रशोधित जौं) को मात्राभन्दा कनिका धेरै भेटिएपछि आन्तरिक राजश्व विभागले अन्तःशुल्कको मूल्य बढाइदिएको छ ।

विभागले प्रशोधित जौंको मात्र बढी हुनुपर्नेमा लोकल रक्सी बनाउने शैलीमा कनिकाको मात्रा बढी प्रयोग गरेको भन्दै बियरको मान्यतासमेत दिएको छैन ।

गोर्खा ब्रुअरीको उत्पादनमा बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्य सरहको अन्तःशुल्क तिर्नुपर्ने गोर्खा ब्रुअरीलाई निर्देशनसमेत दिएको छ ।

बियरमा प्रतिलिटर अन्तःशुल्क १६५ छ । तर, कनिका बढी हालेका कारण विभागले बियरको मान्यता नदिई अन्य सरहको अन्तःशुल्कका लागि कम्पनीलाई निर्देशन दिएको हो । अन्य सरह अन्तःशुल्कमा दररेट प्रतिलिटर ४३० विभागले कायम गरेको छ । यो २२०६.००.९० अनुसार मूल्य कायम गरिएको हो ।

गोर्खा ब्रुअरीले विभागले कायम गरेको अन्तःशुल्क तिर्न आनाकानी गरेपछि दस दिनदेखि गोर्खा बु्रअरीको नयाँ उत्पादन बजारमा गएको (डिस्प्याच) छैन । कम्पनीले भने नयाँ अन्तःशुल्क नभई पुरानै अन्तःशुल्कमा बियर बजारमा पठाउनका लागि आन्तरिक राजश्व विभाग र भन्सार विभागलाई दबाब दिएको छ ।

आन्तरिक राजश्व विभागका निर्देशक शालिग्राम आचार्यले गोर्खा ब्रुअरीको उत्पादनमा कनिकाको मात्रा बढी भएको विषयमा अहिले भन्सार विभागसँग मिलेर के गर्ने भन्ने निर्णय भइनसेको बताए । ‘यसमा भन्सार विभागको पनि राय लिनुपर्ने भएकाले उता पनि पत्राचार भएको छ,’ उनले भने ।

विभागले यसअघि बजारमा पठाइसकेको बियरको पनि नयाँ अन्तःशुल्क कायम गर्न खोजिरहेको छ । यही विषयमा थप अनुसन्धान गर्नका लागि दुवै विभागले छलफलसमेत गरिरहेका छन् ।

विभागले गोर्खा ब्रुअरी, माउन्ट एभरेष्ट ब्रुअरी, हिमालयन ब्रुअरी, यती ब्रुअरी, शेर्पा ब्रुअरी, सिजी ब्रुअरी, नेपाल ब्रुअरी, टाइगर ब्रुअरी, याकब्रुअरी, राज ब्रुअरीको उत्पादनमा गुणस्तर परीक्षण गरेको थियो ।

अरू नौवटा कम्पनीका उत्पादन ठीक भए पनि गोर्खा ब्रुअरीको उत्पादनमा बियरमा आवश्यक पर्ने प्रशोधित जौको मात्र थोरै राखी नाफा कमाउने उद्देश्यले कनिकाको मात्रा बढी प्रयोग गरिएको देखिएको विभागका एक अधिकृतले क्यापिटल नेपाललाई जानकारी दिए ।

जौंभन्दा कनिका सस्तो पर्ने भएकाले गोर्खा बु्रअरीले कनिकाको मात्रा बढी प्रयोग गरेको उनले बताए ।यस विषयमा गोर्खा बु्रअरीका मार्केटिङ डाइरेक्टर बैभव शर्मासँग सम्पर्क गर्दा उनको मोबाइल उठेन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको