
काठमाडौं । नेपाल टेलिकमले विभिन्न वस्तु तथा सेवाको खरीद गर्दा मोबाइलमा भएको ब्यालेन्सबाटै भुक्तानी गर्न सकिने सेवा शुरू गर्ने प्रक्रिया अघि बढाएको छ । हालसम्म मोबाइलको ब्यालेन्सबाट डेटा लिन वा फोन गर्न मात्र सकिने व्यवस्था भएकोमा यसलाई फराकिलो पार्दै टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर स्थापित सहायक कम्पनी नेपाल डिजिलट पेइङ कम्पनी लिमिटेडमार्फत ब्यालेन्सबाटै वस्तु तथा सेवाको भुक्तानी गर्न सकिने सेवा शुरू गर्ने प्रक्रिया अघि बढाएको हो ।
भुक्तानी सेवाका लागि टेलिकमले हार्डवेयर र सफ्टवेयर खरीदका लागि आगामी सोमवारसम्म बुझाउने गरी आर्थिक प्रस्ताव खुला गरेको छ । आएका प्रस्तावअनुसार टेलिकमले आगामी ३ महीनाभित्र सेवा शुरू गर्नेगरी काम अघि बढाउने टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए ।
नेपालमा २ दर्जनभन्दा बढी डिजिटल भुक्तानी सेवाप्रदायक कम्पनीहरू सञ्चालनमा रहे पनि टेलिकमले तीभन्दा फरक सेवा दिने गरी ३ वर्ष अघिदेखि यसको अध्ययन शुरू गरेको थियो । सोहीअनुसार टेलिकमले यसको प्रक्रिया अघि बढाउन खोजे पनि टेलिकम आफैँले मोबाइल तथा फाइनान्सको सुविधा दिन कानूनी बाधा आएपछि टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर सहायक कम्पनी स्थापना गरी भुक्तानी सेवा शुरू गर्न लागेको हो ।
टेलिकमले गतवर्ष माघ दोस्रो साता नेपला दूरसञ्चार प्राधिकरणबाट यसको अनुमति लिएकोमा साउन पहिलो साता नेपाल राष्ट्र बैंकले ६ महीनाभित्र सेवा सुचारू गर्न अनुमतिपत्र प्रदान गरेको थियो । उक्त अनुमतिपत्रअनुसार टेलिकमले पुस मसान्तभित्र जसरी पनि यो सेवा शुरू गरिसक्नुपर्नेछ ।
अन्य डिजिटल सेवा भुक्तानी प्रदायक कम्पनीले दिइरहेको सेवामा बैंकमा भएको ब्यालेन्सबाट इन्टरनेटको प्रयोग गरी भुक्तानी गर्नुपर्ने भए पनि टेलिकमको यो सेवा शुरू भएपछि विनाइन्टरनेट मोबाइलमा भएको ब्यालेन्सबाट सोझै भुक्तानी गर्न सकिनेछ । ‘यो सेवा शुरू भएपछि विनाइन्टरनेट, विनाएप्लिकेशन बजारमा सामान किनिसकेपछि आफ्नो मोबाइलबाट सोझै पैसा तिर्न सकिने छ,’ अधिकारीले भने । (आर्थिक अभियान)