पर्वत । जिल्लाको कुश्मा नगरपालिका १४ आर्थरडाँडाखर्कमा बिदेशी नागरिकको आर्थिक सहयोगमा विद्यालयको भवन निर्माण भएको छ । बेलायतका १९ बर्षे अर्बपति इमान गाड्र्जीको सहयोगमा पञ्चकोशी माध्यमिक विद्यालयमा ६ कोठे भवन निर्माण सम्पन्न भएको हो । गाड्जीको नेतृत्वमा रहेको ग्रो योर एजेन्सी मार्फत पाहार ट्रष्ट नेपालको ८९ लाख र कुश्मा नगरपालिका र स्थानीयको श्रमदान सहित एक करोड ६ लाख खर्चिएर उक्त विद्यालयको भवन निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
निर्माण सम्पन्न ६ कोठे भवन आइतबार बिद्यालयमा आयोजित एक कार्यक्रमका बिच पहार ट्रष्टका संरक्षक तथा पुर्व अध्यक्ष चन्द्रबहादुर गुरुङ्गले बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्मालाई हस्तान्तरण गर्नुभयो । पुरानो संरचना अनुसार बनेको भवन र भूकम्पका कारण भत्किने अवस्थामा रहेको हुनाले दाता खोजेर नयाँ भवन बनाउन थालिएको थियो । कोरोनाको कहरका बिचमा पनि बिद्यालयले समयमा नै भवन सम्पन्न गर्न सकेको र शैक्षिक प्रयोगका लागि बिद्यालयलाई हस्तान्तरण गरिएको पहार ट्रष्ट नेपालका संरक्षक तथा पुर्व अध्यक्ष चन्द्रबहादुर गुरुङ्गले बताउनुभयो ।
यस अघि तत्कालिन शिक्षा कार्यालय पर्वतको सहयोगमा ४ कोठे भवन निर्माण भैसकेको छ भने पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा)को सहयोगमा ४ कोठे भवन र शौचालय तथा खानेपानी निर्माणको काम भैरहेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्माले बताउनुभयो । भवन निर्माण संगै सामुदायिक बिद्यालय भएपनि पञ्चकोशी माबिले ५ कक्षा सम्म मन्टेश्वरी माध्यममा अध्यापन गराउँदै आएको छ भने बिद्यालयमा शैक्षिक सुधारका काम गरिरहेको छ ।