आजबाट १ महिने मलमास शुरु ! मलमासमा के गर्ने ? के नगर्ने ?

काठमाडाैं, २ असाेज । हिन्दू परम्पराअनुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञहरूले बताएका छन् ।

मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहनेछ । यो अवधिमा कुनै पनि नयाँ कार्यको थालनी गर्न नहुने उनीहरूको भनाइ छ । मलमासमा नदि, सागरमा स्नान गरेमा फल प्राप्त हुने बिश्वास छ ।

वाल्मीकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख देवमणि भट्टराई मलमास र क्षयमास जस्ता समयलाई शास्त्रले शुभ कार्य गर्न वर्जित गरेको बताउँछन् । मलमासमा विवाह, व्रतबन्ध, पक्षअनुष्ठान, पुराणवाचन जस्ता कार्य गर्न नहुने उनको भनाइ छ। उनी भन्छन्, “नित्य कर्महरू, नैतित्यक कर्महरू मलमासभित्र पनि गर्न सकिन्छ।”

यसमा घरमा गरिने नियमित पूजापाठ, मन्दिर दर्शन, तिथि, बार या नक्षत्र मिलेर गर्ने योगहरू गर्न मिल्ने उनले बताए । मलमासको कृष्ण पक्षमा जन्मिएका वा मृत्यु भएकाको तिथि निर्धारण गर्दा एक महिना पछिको गरिन्छ ।

मलमासको समयमा विवाह गरेको पहिलो वर्ष परेमा श्रीमान् श्रीमतीसँगै बस्न नहुने प्रचलन रहेको छ । भट्टराईले भने, “दोस्रो, तेस्रो वर्ष परेमा बार्नु पर्दैन ।”

धार्मिक, सांस्कृतिक अध्येता डा. गुरुप्रसाद सुवेदी मलमासमा गृहस्थ जीवन शुरू गर्न नहुने बताउँछन् । उनकाका अनुसार विशेष संस्कारका कर्महरू, नान्दीमुखी श्राद्ध गरेर सम्पन्न गरिने सप्ताह जस्ता ठूला यज्ञ र मन्दिरको प्रतिष्ठा कर्म गर्न हुँदैन ।

मलमास चन्द्रमाको गति अनुसारको महिनाभित्र सूर्यको संक्रान्ति परेन भने यो एउटा अधिकमास हो । यसलाई मलमास भनिन्छ ।

अधिकमास प्रत्येक तीन वर्षमा एकपटक आउँछ। प्रत्येक राशि, नक्षत्र, महिना आदिका स्वामी छन् । अधिक मास अर्थात् मलमासको स्वामी छैनन् । यसकारण अधिकमासमा सम्पूर्ण शुभ, देव एवं पितृ कार्य वर्जित मानिएको उनको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको