रत्ननगर, २४ भदौ । कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका सौराहाका मुसहर समुदायलाई राहत प्रदान गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाले रत्ननगर-७ मालपुरका ४१ मुसहर र एक कुमाल गरी ४२ घर परिवारलाई राहत वितरण गरेको हो ।
जीविकोपार्जनमा समस्या झेल्दै आएका मुसहर समुदायलाई जितीया पर्व मनाउन सहज होस् भनेर राहत प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताए । विहान बेलुका छाक टार्न समस्या भएपछि वडा कार्यालयको लिखित आग्रहका आधारमा राहत प्रदान गरिएको उनले बताए ।
वडा सदस्य भगन्ती माझीको रोहबरमा इम्प्याम्टका अध्यक्ष गिरीले राहत हस्तान्तरण गरेका थिए । कोरोना नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण समस्या झेल्दै आएका विपन्न समुदायलाई सपना भिलेजले विगत ६ महिना अघिदेखि राहत वितरण प्रदान गर्दै आएको छ ।
सपना फुड बैंक स्थापना गरी रत्ननगर, खैरहनी, इच्छाकामनाका विपन्न समुदायलाई राहत वितरण गरिसकेको छ । स्थानीय सरकारसंग सहकार्य गरी काम गरिरहेको सपना भिलेजले चितवनका चेपाङ समुदायको आयआर्जन र विकास र विपन्न समुदायलाई आवास निर्माणको काम गरिरहेको छ भने मुसहर समुदायको जीवनस्तर उकास्न आयआर्जनको काम सुरु गर्ने योजना बनाएको छ ।
मुसहर समुदायका महिलाहरुको समूह बनाएर उनीहरुलाई तरकारी खेतीमा आर्कषित गर्ने योजना रहेको इम्प्याक्टका अध्यक्ष गिरीले बताए । राहत वितरण कार्यक्रमको सहजीकरण इम्प्याक्टका परियोजना अधिकृत अनिल अर्यालले गरेका थिए ।