बागलुङको ढोरपाटनमा पहिरोले ३१ बढी घरमा पूर्ण क्षति, ३९ बढी बेपत्ता, १४ जनाको शव भेटियो

कमल पौडेल,बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ९ को भुजिखोलाको शिर देउरालीमा गएको पहिरो र बाढीमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । अहिले पनि ३९ जना बेपत्ता रहेका छन् ।

मृतक १४ मध्ये २ जनाको मात्रै सनाखत भएको छ । सनाखत हुनेमा ढोरपाटन नगरपालिका वडा नं. ९ लाकुरीबोटका ४५ वर्षीय कर बहादुर विक र सोही स्थानकी २६ वर्षीया केशमाया विक रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभएको छ । शव क्षतविक्षत अवस्थामा रहेकोले पहिचान गर्न कठिन भएको हो । ४ जना घाइतेको उद्धार गरिएको र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीयले बताएका छन् ।

बाढीले लाकुरीबोटमा १५ घर, दुनेपधेरामा ५ घर, घट्ट बोटमा ८ घर, भुसुन्डेमा २ घर, बगाएको छ । सुकुरदुङको सरस्वती आधारभूत विद्यालय को २ कोठे भवन, सुप्राङको जनचेतना प्राविको ४ कोठे भवन, साबिक बोवाङमा रहेको ३ वटा लघु जलविद्युत योजना, एउटा झोलुङ्गे पुल पनि बगाएको छ ।

६ ओटा लघु जलविद्युत आयोजनाको नहरमा क्षति गरेकोले विद्युत् पूर्ण अवरुद्ध भएको छ । त्यस्तै बाढीले एक जिप, २ वटा ट्याक्टर लगायत गाईबस्तु बगाएको छ । यस वर्ष वर्षाद सुरु भए पछि यो घटना भन्दा पहिला बागलुङमा ८ जनाको मृत्यु भैसकेको छ ।

काठमाडौँबाट गृहमन्त्री राम बहादुर थापा, सांसद देवेन्द्र पौडेल सहितको टोली घटनास्थल तर्फ प्रस्थान गरे पनि प्रतिकुल मौसमका कारण त्यहाँ पुग्न नसकी फर्किएका छन् । घटनास्थल सदरमुकामबाट १ सय १५ किलोमिटर पश्चिममा पर्दछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको