काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ ।
पार्टीका महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
कार्यदलमा शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य हुनुहुन्थ्यो ।
यही भदौ १ गते नेकपा सचिवालय बैठकले सो कार्यदल गठनलाई अनुमोदन गरी कार्यादेश स्पष्ट गरेको थियो ।
नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएकोमा अब सहमतिका लागि ठोस पहल अघि बढेको बताइएको छ ।