
शिशिर सिंखडा, चितवन । यहि साउन ५ गते सोमबार अविरल बर्षासंगै आएको बाढीले क्षती पु–याएको चितवन र धादिङको सिमानामा रहेको मौवाखोला पुलबाट दुई पांग्रे सवारी गुड्न थालेको छ ।
आज विहानदेखि अस्थाईरुपमा मोटरसाइकल पास गर्न सुरु गरिएको वेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० का अध्यक्ष अमर गुरुङले जानकारी दिनुभयो । पानी नपरे साँझ सम्म साना सवारी साधन सुचारु गराउने गरि काम भइरहेको छ ।
सोमबार परेको अविरल बर्षाको कारणआएको पहिरोले मौवाखोलामा रहेको मुख्य राजमार्गको पुलको एक छेउ बगाएर यातायात अवरुद्ध भएको थियो ।
सो स्थानमा अहिले डिभिजन सडक कार्यालय भरतपुरले डाइभर्सन निर्माण गरेर राजमार्ग सञ्चालन गर्ने तयारी गरिरहेको डिभिजन प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो । डाइभर्सन निर्माणको काम रातभर पनि भैरहेको उहाँले बताउनुभयो ।