चितवन । नारायणी नदीमा पानीको बहाब अझै बढ्ने क्रममै रहेको छ । देवघाट र नारायणी पुल क्षेत्रमा अझै पनि पानीको सतह खतराको संकेत नाघेको छ । आज (मंगलबार) विहान ७ बजेसम्ममा पनि देवघाट तर्फ पानीको सतह ९.३६ मिटर रहेको छ भने नारायणी पुल तर्फ पानीको सतह १२.१३ मिटर रहेको छ । त्यो खतराको संकेत पारेको गरेको हो । नारायणी नदीमा आएको बाढीले चितवन र नवलपुर क्षेत्रका विभिन्न बस्तीहरु डुबानमा परेका छन् । चितवनतर्फ भरतपुर–१५, १६, २६, २७ लगायत वडाका बस्तीहरु डुबानमा छन् ।
प्रहरीको उद्धार टोलीले सोमबार राती भरतपुर–१६ को झनझने, वडा नं.२६ को भगडी र वडा नंं.२७ को नारायणीको डुबानमा परेका बासिन्दाहरुलाई स्थानीय युवा र प्रहरी मिलेर उद्धार गरेका छन् । रातको समयमा २ सय भन्दा बढी व्यक्ति र पशुचौपायाको समेत उद्धार गरिएको चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
यस्तै भरतपुरको नारायणी दोभान टोलका ४० घर पनि डुबानमा परेको छ । आज विहानैदेखि भारी वर्षा भइरहेकोले अझै सतर्कता अपनाउन चितवन प्रशासनले आग्रह गरेको छ । चितवनमा बाढीले बगाएर खैरहनी–११ का एक व्यक्ति बेपत्ता भएका छन् भने इच्छाकामना गाउँपालिका–५ का दुई घर त्रिशुली नदीको बाढीले बगाएको छ ।