किन र कस्का लागि भइरहेछ प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध घेरावन्दी ?

राजेन्द्र गौतम । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बहुचर्चित र बहुप्रतिक्षित बैठक आफैले तय गरेको सूचीकृत एजेण्डाबाट बाहिरिएपछि पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र दुवै पद खाली गराएर भागबण्डा गर्ने आयातित इन्जेक्ट एजेण्डामा प्रवेश र बहश भएको तथ्य बाहिरिएको छ । यो तथ्य बाहिरिएपछि केही दिनदेखि नेकपा नेपाली सञ्चार माध्यमको गरम मसला बनेको छ भने भारतीय सञ्चार माध्यमहरुमा समेत राम्रै स्थान ओगटन सफल भएको छ । यत्रतत्र सर्वत्र नेकपाकै चर्चा छ ।

स्थायी कमिटी जस्तो पार्टीको सर्वाेच्च संस्थाले एजेण्डा केन्द्रित बहश र छलफल नगर्ने, एजेण्डा तयार गर्ने, एजेण्डामा सर्वसम्मती गर्ने तर त्यस्मा छलफल नगर्ने यस्तो अराजकतावादी, औसरवादी तरिकाले खाली भागबण्डा, सत्ता, स्वार्थ केन्द्रित बहश गर्ने, आआफ्नो स्थान सुरक्षित गर्ने, कार्यकर्तालाइृ भर्या र लठैत बनाउने, खाली आफ्नो बारेमा, पदको बारेमा हामी लडिरहेको देख्दा पार्टीका समर्थक, शुभचिन्तक, हाम्रा मतदाता यो गैरजिम्मेवार तरिका देखेर हामीलाई के बुझ्दा हुन ? फुट र बिभाजनले क्षतीग्रस्त भएको कम्युनिष्ट आन्दोलनलाई पुनगैठित गर्ने महान दायित्वलाई मुख्य महत्व दिएर सिद्धान्तनिष्ठ पार्टी एकतालाई सर्वाेपरि महत्व दिनुपर्ने बेलामा पद, सत्ता र स्वार्थका लागि पार्टीलाई तिलाञ्जली दिने नेताहरुको बिखण्डनकारी सोच देख्दा लया लागेर आउँछ । बिचार र काममा पार्टीब्यापी रुपमा एकता कायम गर्नु, नीति र निर्णय लिई तिनीहरुको कार्यान्वयनमा समान भावना र उत्साह लिएर सिंगो पार्टी पङ्तीलाई परिचालन गर्नुपर्नेमा यो रडाको मच्चाएर जग हसाउने कुरा कम्युनिष्ट नेतालाई घिउ नपचेकै हो ।

आखिर के थिए त ? स्थायी कमिटी बैठकका कार्यसूचीहरु ? स्थायी कमिटीकै सर्वसम्मत निर्णयका आधारमा तयार भएका एजेण्डा देहायबमोजिम थिए :

बर्तमान परिस्थिति र स्थायी कमिटी बैठकको सम्बन्धमा अध्यषद्वयको सम्बोधन, कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, सीमा समस्या, सरकारको कामको समग्र समिक्षा, पार्टी कामको समिक्षा र एकताका बाँकी काम, एमसिसी, बिबिध–रुकुम घटना, नागरिकता बिद्येयक, सांसदको भत्ता सम्बन्धमा । यी छलफल हुने गरी स्थायी कमिटीको बैठक आयोजना गरिएको थियो । अध्यक्षद्वयको सम्बोधन र सीमा समस्याका बारेमा छलफल सकिएपछि एक्कासी बैठक योजनावद्ध ढंगले प्रधानमन्त्री ओलीको राजीनामातर्फ मोडिएको दृष्य हेर्नलायक थियो । एउटा कम्युनिष्ट पार्टीभित्र कुनै एउटा बिचार, सिद्धान्तमा बिमती भए पनि पार्टीभित्रको बिचारधारात्मक संघर्ष मैत्रीपुर्ण हुनुपर्छ, पद्धती संगत र अनुशासित हुनु पर्दछ । आफ्ना धारणा, मत, मानइता र बिचारलाई खुलस्त रुपमा कमिटीभित्र मात्र प्रस्तुत गर्ने, आफ्ना मत, मानइताप्रति पुर्णत जवाफदेही बोक्नुपर्छ । त्यस्को आधारमा गुण दोषको भागिदार बन्ने अवस्था सिर्जना हुन्छ ।

हामी सवैलाई जानकारी भएकै कुरा हो कि कम्युनिष्ट पार्टी लेनिनवादी संगठनात्मक सिद्धान्तका आधारमा चल्छ । नीति प्रधान हुन्छ, पार्टी प्रधान कुरा हो । यो सिद्धान्तलाई पार्टी जीवनमा कडाईका साथ पालना गर्नुपर्छ । ढिलासुस्ती हेलचेक्र्याईं र सीमा मिच्ने प्रबृत्तिलाई समाप्त गर्नुपर्छ । पार्टीमा बिधान, नियम र संहितालाई हरेक सदस्य र प्रत्येक कमिटीको न्यूनतम योग्यता, क्षमता र न्यूनतम क्रियाशिलताको मूल्यांकण गर्नै मापदण्ड बनाएरु लागू गर्नुपर्छ । यसरी कमिटी ब्यवस्थालाई सुदृढ बनाउनु पर्छ । कमिटी ब्यवस्था भनेको नेतृत्वको शैली र तरिका हो । कम्युनिष्ट पार्टीले सामुहिक नेतृत्वलाई उच्च मुल्यांकण गर्दछ । सामुहिक नेतृत्वलाई कार्यरुप प्रदान गर्ने कमिटीहरु नै हुन । र कमिटी ब्यवस्था नै हो । कम्युनिष्ट पार्टीको कार्यशैली भनेको सामुहिक नेतृत्वको सिद्धान्त र ब्यक्तिगत उत्तरदायित्वको भावनालाई उच्च महत्व दिनुपर्छ । हाम्रो पार्टीको कार्यपद्धतीको अर्काे महत्वपुर्ण तत्व कमिटीहरुलाई आफ्नो कार्यक्षेत्रको बास्तविक नेताको रुपमा स्थापित गर्नूपर्छ । अर्थात सामुहिक नेतृत्व र ब्यक्तिगत जिम्मेवारीको तरिका लेनिनवादी कार्यपद्धती । कार्यशैलीभित्र खासगरी कमिटीको कार्य प्रणालीभित्र पर्ने यो एएटा अत्यन्त महत्वपुर्ण तत्व हो । आम रुपमा हामी र हाम्रो पार्टी यसैको आलोकमा अगाडि बढछ ।

हाम्रो जस्तो कम्युनिष्ट पार्टीले ब्यवहारिक जीवनमा आत्मआलोचनाको महत्वलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । आत्मआलोचनाले केवल नम्रतालाई मात्र जाहेर गर्दैन । कामलाई योग्यतापुर्वक सम्पादन गर्नका लागि आफ्नै बिगतबाट सिक्ने महत्वपुर्ण अवसर प्रदान गर्छ । र, जनतासँगको सम्बन्धलाई गाढा बनाउँदछ । पार्टीभित्रको एकतालाई हार्दिक र खँदिलो बनाउँछ । कम्युनिष्ट पार्टी र यस्का नेताहरुले आत्मालोचना गर्ने, आफ्ना कामको समिक्षा गर्ने कार्यशैलीलाई नियमित बनाउनु पर्छ ।

तर हामी आज एउटा असाधारण परिस्थितिमा छौं । पार्टी एकताको आजको अवस्था, जनमत प्राप्तीका असाधारण अवस्था हो । असाधारण यस मानेमा कि दुवै पार्टीका तात्कालिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले आ–आफ्ना पार्टीको केन्द्रीय कमिटी भंग गर्दै नयाँ जगमा नयाँ पार्टी नेकपाको घोषणा गर्नुभयो । दुवै पार्टीको नीति, बिधि र नेतृत्व बिघटित गरियो र सहमतिमा नेकपाको अन्तरिम बिधान, नियमावली र राजनीतिक कार्यदिशा तयार गर्दै पार्टीको नेतृत्वसमेत निर्माण गर्यो । र, एकताको राष्ट्रिय महाधिवेशन सहमति र समझदारीका साथ सञ्चालन गर्न महाधिवेशन आफैले बिधि, प्रक्रिया र संरचना तय गर्ने कुरामा सहमति गर्यो (बिधानको धारा १७ ग) । पार्टी एकताका क्रममा सहमतिका आधारमा कमिटीहरु निर्माण गर्ने भनियो (बिधानको धारा ३८ ग) । त्यसैगरी बिधानको धारा १८ को (झ) को ७ मा दुवै अध्यक्षले राष्ट्रिय परिषद, केन्द्रीय कमिटी, स्थायी कमिटीको बैठकको संयुक्त रुपमा वा आपसी सल्लाहमा दुईमध्ये एकले अध्यक्षता गर्ने तथा पार्टीका आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षले वा सहमतिमा एक अध्यक्षले हस्ताक्षर गर्ने स्पष्ट र बैधानिक ब्यवस्था गरिएको छ ।

यस्को पूर्ण पालनाले मात्र पार्टीले बैधता प्राप्त गर्छ । अर्थात एकता महाधिवेशन अगाडि कुनै एक अध्यक्षले नमान्दा कुनै निर्णय र निर्देशनमा बैधताको प्रश्न उठछ । अर्थात आजको अवस्थामा नेकपा एकलौटी कसैले बहुमतको डण्डा चलाएर अर्काे अध्यक्षलाई निषेध गर्ने अवस्थामा छैन । यसबीचमा पार्टी एकतालाई अक्षुण्ण राख्न, पार्टीलाई आन्तरिक रुपमा सुदृढ, एकतावद्ध बनाउन, पार्टी नेतृत्वको ब्यवस्थापन गर्न जेठ २ गते, मंसीर ४ गते र बैशाख २० मा ऐतिहासिक सहमति र संझौता भएका छन । त्यस्को आ–आफ्नो ब्याख्या, बिश्ल्ेषण होला तर मंसीर ४ गतेको सहमतिले नेतृत्वको स्पष्ट र पारदर्शी कार्यबिभाजन गरेको छ । जो आज पनि त्यक्तिकै जीवन्त कामयावी छ । यसलाई भुलेर पार्टीकै बैधानिक ब्यवस्था र आजको असाधारण परिस्थितिको जगमा पार्टी अगाडि बढन सक्दैन । यसबीचमा सरकारका बिरुद्ध बिभिन्न किसिमका चलखेल भएका छन । त्यस्को आम र पार्टीब्यापी रुपमा समीक्षा र मूल्यांकण हुनैपर्छ ।

हाम्रो जस्तो कम्युनिष्ट पार्टीले ब्यवहारिक जीवनमा आत्मआलोचनाको महत्वलाई उच्च प्राथमिकतामा राख्नुपर्छ । आत्मआलोचनाले केवल नम्रतालाई मात्र जाहेर गर्दैन । कामलाई योग्यतापुर्वक सम्पादन गर्नका लागि आफ्नै बिगतबाट सिक्ने महत्वपुर्ण अवसर प्रदान गर्छ । र, जनतासँगको सम्बन्धलाई गाढा बनाउँदछ । पार्टीभित्रको एकतालाई हार्दिक र खँदिलो बनाउँछ । कम्युनिष्ट पार्टी र यस्का नेताहरुले आत्मालोचना गर्ने, आफ्ना कामको समिक्षा गर्ने कार्यशैलीलाई नियमित बनाउनु पर्छ ।

के भए त ? पार्टी एकता यताका चलखेलहरु ?

-भदौं २०, २०७५ मा सम्पादकहरुलाई बोलाएर मन्त्रिपरिषद पुनर्गठन हुने होहल्ला र जानकारी ।

-प्रतिनिधिसभाको बैठकमा देश संकटमा, देश बचाउन माझीको माग (खोला तार्ने माझी)

-भदौं २१, २०७५ गते प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा रहेको बेला द प्रिन्टकी पत्रकार ज्योती मलहोत्रासँग सम्वाद ः आलोपालो सहमति भएको उदघोष, आफू प्रधानमन्त्री बन्ने दावी ।

-२०७५ असोजमा काठमाडौं ७ बाट कमरेड बामदेव गौतमलाई उपचुनाव लडाउने, भावी प्रधानमन्त्री प्रस्तुत । डोल्पामा पनि छलफल भएको अवस्था ।

-२०७५ पुस तेस्रो साता प्रधानमन्त्री स्वीटजरल्याण्डको डावोस भ्रमणमा रहँदा ललितपुरको अपार्टमेन्टमा सचिवालयका ५ जना नेताको बैठक, गठबन्धन निर्माणको सन्देश, अल्पमतमा परेको होहल्ला ।

– २०७५ माघमा प्रधानमन्त्री स्वीटजरल्याण्डको जुरिच रहँदा भेनेजुयलाका सम्बन्धमा दिएको बक्तब्य, त्यसबाट उत्पन्न बिवाद ।

-२०७६ जेठ १५ गते पत्रकार ऋषि धमलासँगको अन्तरवार्तामार्फत आलोपालो सहमतिको सार्वजनिक उठान, नयाँ सहमतिका लागि जोड ।

-२०७६ भदौं ९ गते प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपचारार्थ सिंगापुरमा रहनुभएको बेला सचिवालय बैठक, ४ जना केन्द्रीय सदस्य थप, एकल हस्ताक्षरमा अपानि जारी । प्रधानमन्त्री उपचारबाट फर्किएपछि संयुक्त हस्ताक्षरमा पुनः अपानि जारी गरिएको ।

-२०७६ भदौंमा पार्टी अध्यक्ष र बरिष्ठ नेताबीच प्रम ओलीलाई पूरा कार्यकाल सरकार चलाउन नदिन सहमति, आलोपालोलाई कार्यान्वयन गराउन दुवै सहमत ।

-२०७६ मंसिर ४ गतेको सचिवालय बैठकले आलोपालो सहमति खारेज, कार्यकारी अध्यक्षको जिम्मेवारी अध्यक्ष कमरेड प्रचण्डलाई दिने निर्णय ।

-२०७६ पुस २३ गते भैसेपार्टी गठबन्धनको सुरुवात, अबिश्वासको अवस्था ।

-२०७६ फागुन १० गते संबिधान संशोधनका लागि कार्यदल गठन, कमरेड माधवकुमार नेपाल संयोजक, सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सदस्य ।

-२०७६ फागुन १४ गते कार्यदल बिघटन, उपाध्यक्ष कमरेड बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय ।

-२०७७ बैशाख ८ गते दुई वटा अध्यादेश जारी ।

-२०७७ बैशाख १२ गते अध्यादेश फिर्ता ।

– २०७७ बैशाख १५ गते प्रधानमन्त्रीबाट हटाउन प्रधानमन्त्री ओलीबिरुद्ध हस्ताक्षर अभियान सुरु, जवाफी हस्ताक्षर संकलन ।

-२०७७ बैशाख १७ गते स्थायी कमिटीको बैठक एजेण्डा एकातिर, बिषयान्तर गरी प्रधानमन्त्री ओलीको राजीनामा माग ।

-२०७७ बैशाख १८ गते भैसेपार्टीमा सात नेताको बैठक ।

-२०७७ बैशाख २० गते युद्धबिरामको सहमति ।

-२०७७ बैशाख २२ गते प्रवक्ता नारायणकाजी श्रेष्ठको निवास हात्तिवनमा भेला, शीर्ष ५ नेता सहभागी ।

-२०७७ बैशाख २५ गते स्थायी कमिटीको बैठक स्थगित ।

-२०७७ बैशाख ३१ गते स्थायी कमिटीको बैठक स्थगित ।

– २०७७ असार १० गते स्थायी कमिटको बैठक सुरु, प्रधानमन्त्रीको राजीनामा माग गर्दै मन्तब्य ।

-२०७७ असार १७ गते झम्सिखेलमा २७ जना स्थायी कमिटीका सदस्यको भेला (आँगन रेष्टुरेन्ट), प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट हटाउन छलफल, केही सदस्यहरुको बिरोध, भेला निश्कर्षबिहीन ।

यी पार्टी एकतापछि यसबीचमा भएका केही महत्वपुर्ण झाँकीहरु मात्र हुन । यी झाँकीहरुले कम्युनिष्ट पार्टीको मर्यादा, अनुशासन, न्यूनतम पनि कम्युनिष्ट भावना माथि ठूलो चोट पुर्याएको छ । इतिहासले यस्को बस्तुनिष्ट समीषा गर्ने नै छ । युगनायकहरुले आफ्नो संस्था, सरकार, सत्ताप्रति के के गर्न सक्छन ? यी केही प्रतिनिधिमुलक घटनाहरु मात्र हुन ।

बर्तमान सरकारका राष्ट्रिय हित र स्वाभिमानका कदमहरु सरकारले निर्माण गरेको समानतामा आधारित नयाँ अन्तराष्ट्रिय एवं छिमेक सम्बन्ध, राष्ट्रिय एकता, सामाजिक सदभावका पक्षमा संझौताहीन अडान र यस्ले सुरु गरेको समृद्धिको यात्राका कारण यो सरकारबिरुद्ध घेरावन्दी जारी छ । कतै हामी यस्को मतियार नबनौं । प्रधानमन्त्री बिरुद्ध भारतीय मिडियामा भइरहेको तथ्यहीन, आधारहीन, कपोकल्पित दुश्प्रचारको हामी टुलुटुलु हेरेर बसेका छौं सीमा सम्बन्धी हाम्रो अडान, नक्शा प्रकरणमा सरकारले खेलेको भुमिका कसैले माने पनि नमाने पनि नेपालको इतिहासमा अजर/अमर रहने छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली धन्यवादका पात्र मात्र होइन, एक जना राष्ट्रवादी नेताका रुपमा यो मुलुकमा इतिहासमा सँधै रहिरहनु हुनेछ । यो अनर्गल प्रचारमा भारतीय मिडियाले खेलेको भुमिकाको बारेमा चुँ सम्म नबोल्ने, अनि उही प्रधानमन्त्रीको राजीनामा मागेर कस्को सेवा गर्न खोजेको हो ?

एकता महाधिवेशन अगाडि कुनै एक अध्यक्षले नमान्दा कुनै निर्णय र निर्देशनमा बैधताको प्रश्न उठछ । अर्थात आजको अवस्थामा नेकपा एकलौटी कसैले बहुमतको डण्डा चलाएर अर्काे अध्यक्षलाई निषेध गर्ने अवस्थामा छैन

जेहोस, पार्टीको पहिलो, दोस्रो तहका नेताहरुले र नेपाली जनताको भावना अनुसार पार्टीको आन्तरिक एकता सुदृढ, एकतावद्ध बनाउँदै पार्टीलाई एकढिक्का बनाएर सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गरी अगाडि बढन, पार्टीको आन्तरिक समस्या तत्काल राष्ट्रिय एकता महाधिवेशन गरी समाधान गर्न, सरकारलाई पार्टीले नीतिगत रुपमा निर्देशन, सहयोग गर्नुपर्ने आवश्यकता छ । यसैको आलोकमा सरकार अगाडि बढछ । सवै नेताहरुलाई आग्रह,पूर्वाग्रह, प्रतिशोधका आधारमा होइन, एकता, सुदृढ आन्तरिक एकता, फेरि पनि एकता गरी अगाडि बढन समयले माग गरिरहेको छ ।

(लेखक गौतम नेकपाका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य एवं प्रेस संगठन नेपालका इञ्चार्ज हुनुहुन्छ ।)

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको