काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १२ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता भएका छन् ।
बिहीबार रातिदेखि परेको अविरल वर्षाले घर पुरिँदा लमजुङमा ३ जनाको मृत्यु भएको छ । बेसीशहर नगरपालिका ७ स्थित सातबिसेमा भुपू बोडिङ नजिकै रहेको दीपक तामाङको घर पहिरोले पुरिँदा एकै परिवारका ३ जनाले जीवन गुमाएका हुन् । ३३ वर्षीय दीपक, २६ वर्षीया बिमाया तामाङ र ९ वर्षीय छेवाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा त्यही घरमा बस्ने ३ जना घाइते भएका छन् । घाइतेको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
बाढीपहिराेले पोखरामा ७ जनाको मृत्यु भएको छ । पहिरोमा १ जना बेपत्ता छन् । पोखरा महानगरपालिका वडानम्बर १८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमा पहिरो खस्दा ३ जनाको मृत्यु भएको हो । घर पुरिँदा ६ जना घाइते भएका छन् । घाइतेको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा उपचार भइरेको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
हमालका अनुसार थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए ? भन्नेबारे भने खुल्न सकेको छैन । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।
त्यस्तै, पोखरा महानगरपालिका वडानम्बर २५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।पोखरा वडानम्बर १८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई राति नै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ ।
त्यस्तै रुकुमपश्चिम पहिरोले घर पुर्दा एकै परिवारका २ जनाको मृत्यु भएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ३ स्थित रेझेखोलामा तुलबहादुर दमाईंको एक तले घर पहिरोले पुरेको हो । पहिरोले घर पुर्दा दमाईंकी पत्नी २८ वर्षीया सीता र ६ वर्षीय छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा दमाइँकी ८ वर्षीया छोरी हिरा घाइते भएकी छन् । उनको अवस्था मध्यम रहेको प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीको भनाइ छ । प्रहरीका अनुसार तुलबहादुर भने कामको सिलसिलामा घर बाहिर थिए ।
म्याग्दीको विभिन्न ठाउँमा पहिरोमा परी ३२ बेपत्ता भएका छन् । धौलागिरी गाउँपालिका वडानम्बर ६ मराङको रिखामा पहिरो जाँदा ७ जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले २ परिवारका ७ जना बेपत्ता भएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।
स्थानीयवासीसमेत रहेका वडा सदस्य लोकबहादुर पुनले भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको बताउनुभयो । उहाँले माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएकाे बताउनुभयो । घण्टीवाङ मुनीको रिखामा ६ घरको बसोबास थियो तीमध्ये ४ घर विस्थापित भएका छन् । गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको वडा सदस्य पुनको भनाइ छ । पहिरो खसिरहेकाले भागाभाग जारी रहेको उहाँले बताउनुभयो ।
यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले २ घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिनुभयो । घरका मानिसले भागेर ज्यान बचाएका छन् । भाग्ने क्रममा एक जना घाइते भएका छन् ।
मुस्ताङ जाने पुल बग्यो
बाढीले माग्दीबाट हिमाली जिल्ला मुस्ताङ जाने पुल बगाएको छ । रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्रबाट मुस्ताङ जाने पुल बगाएको हो । बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिज बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो । बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ यातायात अवरूद्ध भएकाे छ ।