धवलागिरी गाउँपालिका–६ मराङको रिखामा शुक्रबार बिहान पहिरोमा पुरिएर सात जना वेपत्ता भएका हुन् ।
घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना वेपत्ता भएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिएका छन् ।
पहिराेले भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।
भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयबासी समेत रहेका वडा सदस्य लोकबहादुर पुनले बताए। माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएको उनले जानकारी दिए ।
घण्टीवाङ मुनीको रिखामा ६ घरको बसोबास थियो। चार घर विस्थापित भएका छन् ।
कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिए ।
घरका मानिसहरुले भागेर ज्यान बचाएका छन्। भाग्ने क्रममा १ जना घाइते भएका छन् ।
रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।
नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएर बगाएको हो। सो पुल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउपालिका–३ राहुघाटको सिमानामा पर्छ ।
बेलिब्रिज बगाएपछि रघुगंगा, अन्नपूर्ण गाउपालिका र मुस्ताङ जिल्ला सिधा यातायात सम्पर्क बिच्छेद भएको छ ।