काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ ।
नेकपामा चुलिएको विवाद समाधानका लागि भएको दुई अध्यक्षबीचको छलफल सहमतितर्फ उन्मुख भएको वार्तामा सहभागी एक नेताले बताए । वार्तामा दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकर पनि सहभागी थिए ।
विवाद समाधानका लागि विविध विकल्पमा छलफल भएको ती नेताले बताए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीेले आफ्ना अडान कायम राखे पनि यसअघि भन्दा केही लचक भएको उनको भनाइ छ ।
बिहीबार नेकपा स्थायी कमिटी बैठक चल्दैगर्दा ओलीले संसद अधिवेशन अन्त्य गरेपछि अन्तिम पहलका लागि भन्दै नेकपा स्थायी कमिटी बैठक स्थगित गरिएको थियो । ओली र प्रचण्डबीच पार्टीमा देखिएको विवाद समाधानका लागि बालुवाटारमा वार्ता भएसँगै अन्य नेताहरु पनि आन्तरिक संवादमा जुटेका छन् ।