प्रधानसेनापति र सशस्त्रका आईजीपी भारतद्वारा अतिक्रमित भूमि छांगरुमा

दार्चुला, ४ असार । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल बुधबार दार्चुलाको छांगरु पुगेका छन् ।

प्रधानसेनापति थापा सेनाको अस्थायी बेस निरीक्षण र आईजीपी खनाल सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) निरीक्षण गर्न सैनिक हेलिकोप्टरबाट त्यहाँ पुगेका हुन् । दुवै जना बुधबार नै काठमाडौं फर्किएका छन् ।

सरकारले हालै भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नक्सामा समेटेपछि सुरक्षा अधिकारीको सीमा क्षेत्रमा यो पहिलो भ्रमण हो । सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग सीमा जोडिएको १ सय २५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्र सीमामा निगरानी गर्दै आएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा निकाय प्रतिबद्ध रहेको बताएका छन् । दार्चुला सदरमुकाम खलंगामा निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टर दार्चुलाको भवन उद्घाटन गर्दै खनालले यस्तो बताएका हुन् ।

व्यास गाउँपालिका–१ छांगरुमा गत ३१ वैशाखमा स्थापना भएको बीओपी निरीक्षण गर्न दार्चुला आएका आईजीपी खनालले सोही अवसरमा दार्चुलामा निर्माण भएको भवनको उद्घाटन गरेका थिए ।

व्यास गाउँपालिका–१ छांगरु गागामा रहेको सशस्त्र प्रहरीको बीओपी निरीक्षण गरेर फर्किएपछि आईजीपी खनालले खलंगामा निर्मित गुल्म भवनको उद्घाटन गरेका थिए । भवनको उद्घाटन गर्दै आईजीपी खनालले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी जिल्लामा क्रियाशील रहेको बताए । उनले भने, ‘सीमित स्रोत साधनबीच सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ ।’

उनले अहिले देशभर सशस्त्रको बोर्डर आउट पोस्ट स्थापना भइरहेको र दार्चुलामा पनि छिट्टै सशस्त्र प्रहरीको थप पोस्ट स्थापना हुने बताए । यस्तै, लेकमको लाली, मालिकार्जुनको जोलजिवी र व्यासको दुम्लीङमा बोर्डर आउट पोस्ट राख्ने सशस्त्रको तयारी छ । सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग सीमा जोडिएको १ सय २५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्रमा सीमा निगरानी गरिरहेको आईजीपी खनालले बताए ।

‘सीमामा बस्ने नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी सशस्त्र प्रहरी खटिरहेको छ,’ उनले थपे, ‘सीमामा बस्ने नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्नेछौं ।’ आईजीपी खनालले स्रोत साधनले भ्याएसम्म सशस्त्र प्रहरी परिचालन गरिने पनि जानकारी दिए ।

सीमामा बस्ने नागरिकलाई स्वास्थ्य सेवा जरुरी रहेको औंल्याउँदै आईजीपी खनालले व्यासको छांगरु तिंकरमा कम्तीमा १५ शøयाको अस्पताल तत्काल निर्माण गर्नुपर्नेमा जोड दिए । ‘हामी पनि स्वास्थ्य संस्था स्थापनाका लागि पहल गर्छाैं, सञ्चार माध्यमले पनि पहल गर्नु जरुरी छ,’ आईजीपी खनालले भने, ‘सशस्त्र प्रहरीबाट चिकित्सक नै खटाउनुपर्छ भने पनि हामी तयार छौं ।’

यो क्षेत्रमा अहिले ६ महिना मात्रै स्वास्थ्य चौकी खुल्ने गरेको छ । तर, भौगोलिक रूपमा विकट भएका कारण यो क्षेत्रमा जनशक्ति नै बस्न मान्दैनन् । आईजीपी खनालले नागरिकलाई सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी काम भइरहेको भन्दै व्यासमा गुल्मका लागि भवन निर्माण प्रक्रिया अघि बढेको पनि बताए । सरकारले व्यासमा सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि भवन निर्माण गर्न ११ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । राजधानी दैनिकमा नरेन्द्र कार्कीले समाचार लेखेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको