काठमाडौं उपत्यकामा प्रस्तावित ३ स्मार्ट सिटीको डीपीआर स्वीकृत हुँदै

काठमाडौं । काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’ मध्ये तीनवटाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । तयार पारिएको डीपीआर अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्को बैठकमा पठाइएको हो ।

उपत्यका विकास प्राधिकरण अन्तर्गतको काठमाडौं उपत्यका भौतिक विकास समितिले डीपीआरको अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो । समिति अध्यक्ष सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीका अनुसार प्रस्तावित चार नयाँ सहरमध्ये ‘काठमाडौँ इसान’, ‘काठमाडौँ आग्नेय’ र ‘काठमाडौँ उत्तर’ को प्रस्तावित स्मार्ट सिटीको तयार डीपीआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरिएको हो । ललितपुर महानगरपालिकाका नगरप्रमुख बैठकमा अनुपस्थित रहेकाले ललितपुर जिल्लामा पर्ने प्रस्तावित सहर ‘काठमाडौँ नैऋत्य’ को डीपीआरबारे भने निर्णय नगरिएको तिवारीले बताउनुभयो ।

भक्तपुरको नगरकोटदेखि मूलपानीसम्म (पूर्व–उत्तर) ‘काठमाडौं इसान’ स्मार्ट सिटी निर्माण गर्न लागिएको छ । त्यस्तै भक्तपुरकै बालकोटदेखि सूर्यविनायक मन्दिरसम्म (पूर्व–दक्षिण) ‘काठमाडौं आग्नेय, ललितपुरको सिमालखालदेखि खहरे खोलासम्म (दक्षिण–पश्चिम) ‘काठमाडौं नैऋत्य’ र काठमाडौंको साँखु क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ‘काठमाडौँ उत्तर’ स्मार्ट सिटी निर्माण गरिने प्रस्ताव गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको