
काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछि बन्द रहेको नेपाली सुन बजारमा मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजार प्रभावका कारण सन् २०२० पछि नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख रुपैयाँ नाघ्ने अनुमान छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेपछि गत चैत १० गतेदेखि नेपाली सुन बजारमा मूल्य निर्धारणसँगै कारोबार बन्द छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य निर्धारण नगरेपनि अन्तर्राष्ट्रिय बजारमा दैनिकरुपमा सुनको मूल्य निर्धारण भइरहेको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १७ सय ३६ डलर पर्छ । नेपाली बजारमा यो मूल्य प्रतितोलाको ८७ हजार ५ सय रुपैयाँ हो ।
जेठ ९ गते शुक्रबार तोलाको ८७ हजार २ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन १० गते शनिबार र ११ गते आइतबार बढेर ८७ हजार ७ सय रुपैयाँमा पुगेको थियो । सोमबार र मंगलबार ८७ हजार ५ सय रुपैयाँमा सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले जानकारी दिनुभएको छ । दैनिक रुपमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा २० देखि २५ डलरसम्मको उत्तारचढाव भइरहेको छ । यसले सुन बजारलाई अनिश्चित देखाएको छ । सन् २०२० को अन्त्यसम्ममा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर १८ सय डलरसम्म पुग्ने अनुमान छ ।
केही दिन अगाडि मात्रै १७ सय ४३ डलरमा पुगेर सुनको मूल्यले नेपाली बजारमा तोलाको ८८ हजारमा रेकर्ड बनाएको थियो । अन्तर्राष्ट्रिय अर्थतन्त्रमा ह्रास आएपछि सुनमा लगानी गर्नेको संख्या बढ्दा मूल्य बढिरहेको छ । आगामी दिनमा चीन र अमेरिकाबीचको व्यापार युद्ध बढ्ने संकेत आउँदा मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सन् २०११ मा १९ सय २४ डलरसम्म पुगेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । सन् २०२० पछि भने सुनको मूल्य बढेर प्रतिऔंस २ हजार डलर नाघ्ने र नेपाली सुन बजारमा सुनको मूल्य तोलाको १ लाख रुपैयाँ नाघ्ने अनुमान छ । यस्तैमा अन्तर्राष्ट्रिय विश्लेषकहरुले कोरोनाको त्रास घट्दै जाँदा मूल्य घटेर प्रतिऔंस १५ सय डलरसम्म झर्नसक्ने अनुमान पनि गरेका छन् । यसो हुँदा नेपाली बजारमा सुनको मूल्य धेरै कम हुनेछ ।