नेपालको सिमाना रगतले कोरिएको हो, अतिरञ्जना नगर भारतीय मिडिया

केपी ओलीको नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा जारी गरेसँगै भारतले आधिकारिक धारणा सार्वजनिक गर्नुपूर्व भारतीय मिडियाले प्रोपोगाण्डा वार चलाएका छन् ।

उसै त भारतीय सञ्चार माध्यम अतिरञ्जित समाचार पस्कने कार्यले निकै वदनाम नै छन् ।

नेपालले तथ्यसहित राखेको अडानमा चिनियाँको उक्साहटमा भएको तल्लो स्तरको प्रचारवाजी गरिरहेका छन् । जनतामा अनावश्यक उत्तेजना भड्काउने, नेपाली र भारतीय जनतामा अस्वस्थ संघर्ष चर्काउने कार्य गरिरहेका छन् ।

भारतीय स्थल सेना प्रमुखले पनि कसैको उक्साहटमा नेपालले बोलेको निकै आपत्तिजनक अभिव्यक्ति दिएका छन् । इतिहासलाई बंग्याएका छन् । भारतीय सेना प्रमुखले के कुरा बुझ्नु पर्छ भने नेपालको सीमा रगतले कोरिएको हो । न भारतीय न चीन वा न त कुनै देशको निगाह वा उनको उपहारमा प्राप्त गरेको हो, नेपाल ।

नेपालको सीमा निर्धारण गर्न चीनले नेपाललाई उचाल्नु पर्दैन । वीर पुर्खाले आफ्नै तागतले सीमा निर्धारण गरेका हुन ।

बरु नेपालको भूभाग भारतलाई गुलाम बनाइरहेको अंग्रेजसँगको लडाईमा पराजीत भएपछि सन् १८१६ मा सुगौली सन्धि गरेर खुम्चिएको हो । ब्रिटिशसँग निर्धारण गरिएको यो खुम्चिएको सीमालाई समेत भारतले ७० वर्षदेखि मिचेको तथ्यसहित नेपालले दावी गरेको हो ।

सामरिक, साँस्कृतिक र पर्यटकीय हिसावले भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको जमिन निकै महत्वको छ । हुन त कुनै पनि जमिनको आफ्नै महत्व हुन्छ । पुर्खाको रगत र पसिनाले आर्जेको जमिनलाई त्यसै छाड्ने अवस्था हुँदैन ।

कोरोना भाइरसको यो महामारीका बेलामा सीमा विवाद निकालेर भारतीय शासकले नेपाल र नेपालीको विरुद्ध आफ्ना निकट मिडियालाई परिचालन गरेका छन् । आफ्नो आन्तरिक संकटलाई विषयान्तर गरिरहेका छन् ।

भारतमा स्थापित अभिनेत्री तथा नेपाली छोरी मनिषा कोइरालाले देशभक्तिको कुरा गर्दा अनावश्यक भारतीय मिडियाबाट आक्रमण र लाञ्छना खेप्नुपरेको छ । तर, उनी अविचलित आफ्नो अडानमा छिन । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले नेपालको सीमाबारेमा भारतीय मिडियाको गलत धारणाका विरुद्ध दृढतापूर्वक आफ्नो अडान स्पष्ट पारे । यो निकै सकारात्मक छ ।

नेपाली जनताका कारणले भन्दा पनि विगतमा शासकको आत्मसमर्पणवादी चिन्तन र व्यवहारका कारण नेपालले सधैं हेपिनु परेको हो । केपी ओलीले भारतसँगको सीमाका बारेमा स्पष्ट अडान र त्यसको सुदृढीकरणका लागि गरेको पहल अभूतपूर्व छ । वीर पुर्खाको रगतले कोरेको सीमारेखालाई कायम गर्ने काममा उनले अगुवाइ गरिरहेका छन् । धेरै ठूलो हिस्साको सहयोग र ऐक्यबद्धता छ । ९ जेठ २०७७

झिल्काे डटकम बाट साभार

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको