यशोदा अधिकारी, काठमाडौं । महंगो व्यवसायका रुपमा चिनिने हवाई सेवा कोरोना भाइरस सङ्क्रमणका कारण ठप्प भएपछि दैनिक उडान भर्दै आएका जहाजहरु यतिखेर पार्किङमा थन्किएका छन् ।
दैनिक दुई करोड ६० लाखभन्दा बढी राजश्व सङ्कलन गरिरहेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल विगत झण्डै दुई महिना यता सुनसान छ ।
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण हाल सञ्चालनमा रहेका नेपाल एयरलाइन्स, निजी वायुसेवा कम्पनी र हेलिकप्टर कम्पनीहरु ठूलो आर्थिक संकटबाट गुज्रिरहेका छन् ।
नेपालबाट धेरै उडान हुने खाडी मुलुकसँगै भारत, चीन, थाइल्यान्ड, मलेसिया जस्ता देशमा उडान बन्द भएको छ । त्यसैले देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको गतिविधि शून्य अवस्थामा छ ।
दैनिक एउटा हेलिकप्टरले कम्तिमा आठदेखि दश लाख रुपैयासम्मको व्यापार गर्दै आएका हवाई कम्पनीहरु दुई महिनादेखि उडान नहुँदा घाटामा गएका छन् ।
वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज शर्मा कँडेलले सरकारले न्यूनतम ब्याजदरमा ऋणको व्यवस्था गरिदिए हवाई कम्पनीहरूलाई राहत मिल्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरकारले सहयोग नगरे हवाई कम्पनीहरू डुब्छन् । अब त तलब खुवाउन पनि सकिँदैन ।”
विदेशी पर्यटकमा निर्भर हुँदै आएका नेपाली वायुसेवा कम्पनी आर्थिक रुपमा त्यति सबल देखिदैनन् । विदेशीलाई हिमाल अवलोकन गराउने विभिन्न संघसंस्थाले चार्टर्ड गर्ने र पर्यटकीय सिजनमा हुने विदेशीको चार्टर्ड तथा रेस्क्युको भरमा नै चल्दै आएका थिए । जो अहिले ठप्प नै छ ।
वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज शर्मा कँडेलले सरकारले न्यूनतम ब्याजदरमा ऋणको व्यवस्था गरिदिए हवाई कम्पनीहरूलाई राहत मिल्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सरकारले सहयोग नगरे हवाई कम्पनीहरू डुब्छन् । अब त तलब खुवाउन पनि सकिँदैन ।”
हवाई सेवा अत्याधुनिक प्रविधि, उडान सुरक्षासँग संवेदनशील र ठूलो पूँजीको आवश्यकता पर्ने व्यवसाय हो । अन्य व्यापार व्यवसायभन्दा यसको प्रकृति फरक छ।
सरकारी स्वामित्वमा रहेको नेपाल वायु सेवा निगमका चार वटा एयरबस र आठ वटा जहाज पनि राहत सामाग्री, स्वास्थ्य सामाग्री बोक्नबाहेक त्यत्तिकै थन्किएका छन् ।
निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषमा गरी झण्डै २५ अर्ब ऋणको किस्ता तिर्न समेत सकिरहेको छैन । लकडाउन सुरु भएदेखि असार मसान्तसम्ममा निगमले झण्डै ७ अर्व घाटा हुने अनुमान गरेको छ ।
निगमका अध्यक्ष सुशिल घिमिरे उडान ठप्प भएको अवस्थामा कसरी व्यवस्थापन गर्ने भन्ने अन्यौल रहेको बताउनुहुन्छ । अध्यक्ष घिमिरेका अनुसार उडान सुरु भएपछि पनि तत्काल निगम उकासिन सक्ने अवस्था छैन् ।
नेपाल जस्तो हवाई सेवाको लागि इन्धन लगायत सञ्चालन खर्च महँगो हुने देशका लागि त यो व्यवसाय आफैँमा बढी जोखिमको व्यवसाय हो । हवाई सेवालाई चाहिने दक्ष पाइलट र इञ्जिनियर समेत पर्याप्त नभई बाहिर देशबाट ल्याएर चलाउनु पर्ने अवस्था रहेको हवाई सेवाको समयानुसार विकास हुन सकेको छैन ।
नेपालमा आन्तरिक र अन्तराष्ट्रिय उडानबाट मासिक छ लाख हवाई यात्रु आउने जाने गर्थे भने अहिले त्यो जिरो अवस्थामा छन् । निजि क्षेत्रमा करिव सय अर्वको लागनी रहेको हवाइ सेवा चार अर्व रुपैया घाटा रहेको छ । नागरिक उड्डयान प्राविधकरणले पनि लकडाउन सुरु भएयता करिव साँडे चार अर्व रुपैया घाटा भएको महानिर्देशक राजन पोखरलेल जानकारी दिनुभयो ।
१० वटा हवाई जहाज, १० हेलिकप्टर सञ्चालक कम्पनीका ७५ वटा जहाजहरु यतिखेर ग्राउनडेड भएर बसेका छन् ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले हवाई उडानहरु कहिलेदेखि सुरु हुन्छन् भन्ने अन्यौलै रहेको छ ।