काठमाडौं, ३१ वैशाख । काठमाडौं चन्द्रगिरी नगरपालिका वडा नम्बर ९, मच्छेनारायानमा भेटिएकी कोरोना भाइरसको संक्रमित महिला भारतबाट आएको खुलासा भएको छ ।
३३ वर्षीया ती घुमेर भारतबाट नेपालगज हुँदै काठमाडौं छिरेकी थिइन् । एकजना स्थानीयका अनुसार ती महिला भारत घुमेर आएको र भारतमै उनलाई कोरोना भाइरसको संक्रमण भएको बताए ।
ती महिलाको परिवार र छिमेकीको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी भएको छ । चन्द्रागिरी नगरपालिकामा संक्रमित भेटिएपछि नागढुंगामा कडाइ गरिएको छ ।
मंगलबार मात्रै काठमाडौं उपत्यकाभित्र २५ हजारभन्दा धेरै मान्छेहरू प्रवेश गरेका छन् । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा ती महिलासहित २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
ती महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि काठमाडौं उपत्यकामा व्यक्तिहरू आफै सर्तक बनेका छन् ।
भक्तपुर जिल्लामा पनि मंगलबार दुई जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।
यसैवीच, भक्तपुरका २५ वर्षकी महिला र २७ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
भक्तपुर निवासी २५ वर्षीया महिला पनि सुनसरीबाट यही वैशाख २९ गते काठमाडौं उपत्यका छिरेको पाइएको छ । उनी मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी हुन् ।
स्वास्थ्य मन्त्रालयको स्रोतका अनुसार भक्तपुरकै अर्का संक्रमित २७ वर्षीय पुरुष पनि तराईबाट आएका थिए । केहीदिन अगाडि काठमाडौं आउने सवारी पास बनाएर काठमाडौं छिरेको बताइएको छ ।