
काठमाडौँ । लकडाउन खुलेपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानुनी मान्यता प्राप्त गर्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।
चैत ६ गतेदेखि हुने भनिएको एसईई कोरोनाभाइरसको संक्रमणका कारण रोकिएको छ । यसैबीच विभिन्न विज्ञहरुले यसबारेमा फरक फरक धारणा प्रस्तुत गर्दै आइरहेका छन् ।
कसैले एसईई क्यान्सल गर्नुपर्ने तथा अनिवार्य विषयमात्रैको परीक्षा सञ्चालन गरिनुपर्ने विकल्पहरु औल्याइएको छ । तर शिक्षा मन्त्रालयले कानुनी आधार पहिल्याउँदै एसईई गरिने जनाएको हो ।
माध्यमिक परीक्षा बोर्डको रेकर्डअनुसार यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । कुनै पनि परीक्षार्थीलाई डेरा बस्नु नपर्ने गरी ७ सय २७ केन्द्र थप्ने योजना बनेको बताइएको छ ।