काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा-विद्यार्थी संगठनले सीमा क्षेत्रमा काँडेतार लगाउन माग गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूले संयुक्तरुपमा सरकार समक्ष यस्तो माग राखेका हुन् । दुवै संगठनले आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै सीमानामा काँडेतार लगाएर सुरक्षाफौज राख्न माग गरेका छन् ।
परराष्ट्रमन्त्री ज्ञवालीलाई ज्ञापनपत्र बुझाउन युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल तथा अनेरास्ववियूका संयोजक ऐन महर र सह-संयोजक रञ्जित तामाङ सिंहदरबार पुगेका थिए ।
युवा विद्यार्थी संगठनले भारतले जारी गरेको पछिल्लो नक्सा खारेजीको माग पनि गरेका छन् । त्यस्तै नेपाली भूमि अतिक्रमण गरेर बनाइएको सडक सञ्चालनमा रोक लगाउनका लागि आवश्यक पहल गर्न पनि सरकारलाई आग्रह गरिएको छ ।