काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकतावद्ध भएकाले अब खुसीसाथ काममा लाग्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद् बैठकमा प्रसन्नताका साथ प्रस्तुत भएका ओलीले पार्टी सचिवालयका सबै नेताहरु एकतावद्ध भएको बताए ।
प्रधानमन्त्रीको राजीनामा मागिएपछि उत्पन्न संकट समाधान उन्मुख भएपछि ओलीले मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई भने, ‘अब पार्टी एकतावद्ध भएको छ । हामी सबैजना खुसीसाथ काममा लागौँ । अब सबैसाथीहरु काममा जुट्नुस् ।’
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदको बजेट अधिवेशन २६ गतेका लागि आव्हान गर्न सिफारिस गरेको छ । संविधान अनुसार नेपालको बार्षिक बजेट जेठ १५ गते ल्याउनुपर्छ ।