
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक झण्डै ४ घन्टामा सम्पन्न भएको छ । पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि स्थायी कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न सचिवालय बैठक बेलुकी पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको थियो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बसेको बैठकमा स्थायी समिति बैठकको मितिका विषयमा केन्द्रित भएर छलफल हुने भएको छ ।
नेकपामा एकअर्काविरुद्ध हस्ताक्षर संकलन थालेका दुवै समूहले एकअर्काविरुद्ध संसदीय दलमा बहुमत रहेको बताएका थिए । ओली पक्षधरले बहुमत सदस्यको हस्ताक्षर गरेको प्रचार गरेपछि प्रचण्ड नेपाल समूहले पनि बहुमत सदस्यको हस्ताक्षर बोकेर बैठकमा पुगेको जनाएको थियो ।
प्रधानमन्त्री ओलीले हिजोदेखि आफू निकटको हस्ताक्षर संकलन गरेपछि अर्को समूहले पनि आफू निकटको हस्ताक्षर अभियान थालेको थियो । दुवैपक्षको बहुमतको दावी गरिएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउने तथा गिराउने बहुमतका लागि १३८ जना सांसद चाहिन्छ । प्रतिनिधिसभा निर्वाचनबाट देशकै ठूलो दल बनेको नेकपाका १७४ सांसद छन् । यीमध्ये पूर्वएमालेबाट १२१ र पूर्वमाओवादीबाट ५३ जना सांसद छन् । पूर्वमाओवादीबाट अग्नि प्रसाद सापकोटा सभामुख छन् ।