काठमाडौं, बैशाख १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफ्नो भनाई भन्दै झुटो कथा लेख्ने नयाँ पत्रिकाको समाचारबारे मुख खोल्नुभएको छ । उपाध्यक्ष गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा आफूले दिएको सुझावलाई आफैले कथा बनाएर झुटो अफवाह फैलाएको भन्दै प्रतिवाद गर्नुका साथै प्रेस नोट नै जारी गर्नुभएको हो । सो पत्रिकाले बामदेवको सझुाव भन्दै पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिएर बालकोट गएर आराम गर्नु भन्दै आफ्नो मनको कथा रचेको थियो ।
यस्तो छ बामदेवको प्रेस नोट
हिजो (१३ गते) प्रधानमन्त्री क।केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ । पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो ।
समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन् । यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ ।
उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।
वामदेव गौतम
उपाध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
१४।०१।२०७७