बागलुङ। बागलुङको पहिलो कोरोना संक्रमित युवतीको छैटौं कोरोना रिर्पोट नेगेटिभ आएको छ । बागलुङ नगरपालिका -४ कुंडुलेकी १९ वर्षीया अंशु सापकोटाको पछिल्लो रिपोर्टसँगै दुईपटकको कोरोना चेकजाँच रिर्पोट नेगेटिभ आएपछि उनी कोरोनाको जोखिबाट मुक्त भएको पुष्टि भएको हो ।
सापकोटाको छैटौं कोरोना रिर्पोट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको छ । चैत १२ मा नगरपालिकाको पहलमा धवलागिरी अस्पतालका स्वास्थ्यकर्मीको टोली सापकोटाको घरमै पुगेर नमुना संकलनपछि रिपोर्ट टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं पठाइएपश्चात स्वाब परीक्षण क्रममा कोरोना संक्रमण देखिएको थियो ।
अस्पतालबाट डिस्चार्जपछि पत्रकारसँग प्रतिक्रिया दिँदै सापकोटाले सबैको सहयोग र उच्च आत्मविश्वासले आफू कोरोना मुक्त भएको भन्दै खुसी व्यक्त गरिन ।
गत चैत्र १६ गते कोरोना संक्रमण पुष्टि भएपछि धवलागिरी अञ्चल अस्पतालको आईसोलेशन वार्डमा उपचार गराईरहेकी सापकोटालाई पाचौं र छैटौं रिर्पोटबाट कोरोना संक्रमण नभएको पुष्टी भएको हो । डिस्चार्जपछि उनलाई घरमै केही समय क्वारेन्टाईनमा रहन भनिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
गत चैत्र ४ गते कतार एयरवेजबाट बागलुङ आएकी सापकोटाको लगातार चार पटकसम्म थ्रोट स्वाब परिक्षण गर्दा पोजेटिभ रिर्पोट आएको थियो । उनी बागलुङको पहिलो र मुलुकको पाचौं कोरोना संक्रमित हुन । । सापकोटा संक्रमण मुक्त भएसँगै बागलुङ पनि कोरोना मुक्त बनेको छ ।