
चितवन, ५ बैशाख । कालिका नगरपालिकाको वडा नम्बर ११ सिद्धिमा बसोबास गर्दै आएका चेपाङहरु राहतको नाममा ठगिएका छन् । कालिका नगरपालिकाद्धारा बितरण भएको राहातमा सरकारले तोके भन्दा न्युन मात्रामा उपलब्ध गराएपछि आफूहरु ठगिएको त्यहाँका चेपाङले न्युज२४ सँग गुनासो गरेका छन् ।
सिद्धिका राजन चेपाङले आफूहरुलाई नगरपालिकाले २० केजी चामल, २ केजी दाल, नुन र तेल दिने भनिएको सुने पनि हाल जम्मा १० केजी चामल आधा केजी दाल र एक-एक पोका नुनतेल मात्र दिएको बताए ।

राजनले आफ्नो १० जनाको परिवार भएको र आफुले पाएको राहात सकिसकेको बताए । त्यहाँ राजन चेपाङजस्तै अन्य ब्यक्तिले पनि आफुहरुले दश केजी मात्रै चामल पाएको बताएका छन् । चामल पनि एकै खालकाे बाेराेभित्र दुइथरी रहेकाे उनीहरूकाे भनाइ छ । साे ११ नम्बर वडामा टोल टोलबाट डाटा संकलन गरेर नगरपालिका पठाईएको थियो ।
यता कालिका नगरपालिकाका मेयर खुम नारायण श्रेष्ठले तीनजना भन्दा धेरै भएको परिवारलाई सरकारले निर्देशन गरेअनुसार राहत दिएको दाबी गर्दै आएका छन् । मेयर श्रेष्ठले हामीले १० जनाको परिवार भएकोलाई दश केजी दिने भन्ने हुन्न यदि कहीँकतैबाट त्यस्तो बदमासी भएको भए अनुगमन गर्ने बताए । कालिका नगरपालिका वडा नम्बर ११ मा २ सय २ घर परिवारले राहत पाउनयोग्य रहेको डाटा अनुसार नै राहात पठाएर बितरण गरेको नगरपालिकाले दाबी गर्दै आएको छ ।
तर स्थानीयले भने २०२ परिवारको नाममा आएको राहात ४ सयभन्दा बढी परिवारलाई वितरण गर्दा वास्तविक पीडितहरुलाई छाक टार्न मुस्किल भएको बताएका छन् । कालिका नगरपालिकामा ३५ सय ३७ घरपरिवार राहत पाउनयोग्य थिए । सोहीअनुरुप राहात वितरण भइरहेको भए पनि चेपाङहरुलाई भने थोेरै राहत दिँदा आशंका उत्पन्न भएको छ । from.. news24tv