
बागलुङ, १ बैशाख। ढोरपाटन नगरपालिका १ की गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरी पोखरा पठाइएको छ। पाठेघर भन्दा बाहिर गर्भ बसी पाठेघरको नली फुटेको अवस्थामा सोमबार बिहान ८ बजे प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याइएकी ३३ वर्षीया भिमा पाण्डेलाई हेलिकप्टरबाट उद्धार गरी गण्डकी अस्पताल पोखरा पठाइएको डाक्टर मिलन मल्लले जानकारी दिए। पाठेघरको नलि फुटी अधिक रक्तश्रव भएकाले एम्बुलेन्समा बागलुङ लैजान खोजिएको भएपनि ज्यानै जोखिममा परेपछि बडिगाड गाउँपालिकाको कार्यालयबाट उद्धार गरि उनलाई पोखरा पठाइएको हो। साढे १ महिनाको गर्भ रहेकी पाण्डेलाई जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्य्विधी २०७५’ अनुसार हेलीकप्टरबाट निशुल्क उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमूख गौलोचन शैजुले जानकारी दिए। कार्य्विधी अनुसार लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाई भएका, गर्भमानै बच्चाको मृत्यु भएको, गर्भवस्थामा हात खुट्टा शरिर सुन्निएको, अधिक रक्ताश्राव भएको, रक्त अल्लपता भएका दुर्गम हिमाली र पहाडी ३४ जिल्लाका महिलालाई निशुल्क हवाई उद्धार गरिन्छ। यो कार्य्विधीमा उल्लेख भए अनुसार गण्डकी प्रदेशका बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाका गर्भवती तथा सुत्केरी महिलालाई सरकारले निशुल्क उद्धार गर्ने गरेको छ।