

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाउनुभएको तीन जना मन्त्रीसँग बुधबार मन्त्रालयमा छलफल गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर १ काे सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाउनु भएका भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्त नेम्वाङ, गण्डकी प्रदेशको सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाउनु भएकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल र सुदूरपश्चिम प्रदेशको सरकारसँग समन्वयको जिम्मेवारी पाउनु भएकी खानेपानी तथा सरसफाइ मन्त्री विना मगरसँग मन्त्री ढकालले छलफल गर्नुभयो ।
छलफलमा मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणमा चालिरहेको कदम र गरिरहेको कामको विषयमा जानकारी गराउनु भयाे । मन्त्री ढकालले प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउनेकाम अन्तिम अवस्थामा पुगेको बताउनुभयाे । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा गरी तीन हजारको सङ्ख्यामा परीक्षण गर्ने क्षमता रहेकामा प्रदेशस्तरमा प्रयोगशालाको जडान, स्तरोन्नति तथा मेशिन थप गरी क्षमता विस्तार हुँदैछ ।
सम्बन्धित प्रदेशको समन्वय गर्ने जिम्मेवारी पाउनु भएको मन्त्रीहरूले स्वास्थ्य सामाग्री र अन्य तयारीको बारेमा प्रदेशगत रूपमा अाफ्नो विचार राख्नुभयो । केहीदिन अघि बसेको मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय समन्वय समितिमा नरहनु भएका मन्त्रीहरूलाइ प्रदेश सरकारसँग समन्व गर्ने जिम्मेवारी तोकेको थियो ।
ताजा समाचार
धेरैले पढेको
© 2025 Copyright Kalika Broadcasting Network Pvt. Ltd. | All rights reserved
Developed by: Namuna Computer