भरतपुरको चौतारी नमूना टोल सुधार समितिद्वारा अति विपन्न मजदुरका परिवारलाई राहत वितरण

सुरज पौडेल, चितवन । लक डाउनका कारण समस्यामा परेका अति विपन्न मजदुरका परिवारलाई चौतारी नमूना टोल सुधार समितिले आज राहत वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा रहेको चौतारी टोलमा मारवाडी सेवा केन्द्रको सहयोगमा खाद्य सामाग्री वितरण गरिएको हो । सो अवसरमा ७४ परिवारमा आश्रित २४० व्यक्तिलाई राहत वितरण गरिएको टोल सुधार समितिका अध्यक्ष गोविन्द अर्यालले जानकारी दिनुभयो ।

परिवार सदस्य संख्याका आधारमा फरक फरक परिमाणमा वितरण गरिएको खाद्य सामग्री भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष चन्द्रमित्र पण्डित, चौतारी नमूना टोल सुधार समितिका अध्यक्ष गोविन्द अर्याल र मारवाडी सेवा केन्द्रका अध्यक्ष दुलिचन दादा ले संयुक्त रूपमा वितरण गर्नुभएको थियो । ठूलो परिवारलाई १० किलो चामल, २ किलो दाल, २ किलो गेडागुडी, २ किलो चिउरा, २ लिटर तेल, १ किलो नुन र १ पोका सोयाबिन र सानो परिवारलाई ७ किलो चामल, १ किलो दाल, १ किलो गेडागुडी, १ किलो चिउरा, १ लिटर तेल, १ किलो नुन र १ पोका सोयाबिन वितरण गरिएको टोल सुधार समितिका अध्यक्ष अर्यालले बताउनुभयो । अत्यन्तै सामान्य तवरले गरिएको वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष पण्डितले सबैलाई सुरक्षित रूपले घरमा बस्न आग्रह गर्नुभयो ।

सरकारले घोषणा गरेको लकडाउन पालना गरेर सरकारलाई सहयोग गर्नु नै अहिलेको अवस्थामा सुरक्षित रहने र संक्रमण फैलिन नदिने एकमात्र उपाय भएको उहाँको भनाइ थियो । महानगरपालिका बाट वडालाई प्राप्त राहत रकम वडाभित्रका टोल सुधार समितिहरुको समन्वयमा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।चौतारी टोलमा मारवाडी सेवा केन्द्रले आर्थिक सहयोग गरेकोमा धन्यवाद दिँदै उहाँले यस्ता परोपकारी कार्यमा सहभागी हुन सबैलाई आग्रह पनि गर्नुभयो ।

लकडाउनको नियम पूर्ण परिपालन गरेर घरभित्रै बस्न आग्रह गर्दै टोल सुधार समितिका अध्यक्ष अर्यालले आफ्नो टोलभित्रका कसैलाई पनि खानेकुराको समस्या हुन नदिने प्रतिवद्दता जनाउनुभयो । लकडाउनको समयावधि लम्बिएमा पून: अन्य सहयोगी सामाजिक संघ संस्था लाई आग्रह गरेर दोस्रो चरणको राहत वितरण गरिने पनि उहाँले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको