काठमाडौं । सरकारले देशभर लकडाउन गरेको आज आठौं दिन । कोरोना भाइरसको रोकथामका लागि भन्दै ११ चैत्रबाट गरेको लकडाउन १८ चैत्रको विहानसम्म गरेकोमा सरकारले पुनः एक हप्ताको लागि थपेको छ ।
लकडाउन लम्बिने सम्भावनालाई दृष्टिगत गरी सरकारले राहतको प्याकेज सार्वजनिक गरिसकेको छ । श्रमिक र दैनिक ज्यालादारीलाई राहत देखि बैंकको सावाँ र ब्याज तिर्ने समय समेत असारसम्मलाई थपिएको छ । छिमेक भारतले २१ दिनको लकडाउन गरेको एक हप्ता भएको छ । भारतसँगको आवतजावत् र सामिप्यताका कारण पनि सीमा बन्द गरिएको छ । भारतको लकडाउन समयावधिका कारण पनि नेपालले लकडाउन लम्ब्याउने परिस्थिति हुनसक्छ ।
अहिलेसम्म पाँचजना संक्रमित भेटिएकामा चारजना उपचारका क्रममा छन् । जसमध्ये एकजना ओइशोलेशनमा राखेर उपचाररत रहेको १० दिन पुगेको छ । अन्यको भने पाँच देखि आठ दिन भएको छ । उनीहरुको सम्पर्कमा आएकाहरु पनि निगरानीमा रहेका छन् ।
संक्रमितलाई कम्तिमा दुई हप्तामा क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले विदेशबाट आएका र भेटिएकाहरुको दुई हप्ता अझै बाँकी छ । यसकारण पनि लकडाउन लम्बिने सम्भावना रहेको बुझिएको छ ।