काठमाडौं । कोभिड–१९ संक्रमणविरुद्ध लड्न नेपाल सरकारले बनाएको कोरोना उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ कारोड रुपैयाँ जम्मा गर्ने भएका छन् । मंगलबार प्रेश वक्तव्यमार्फत उनले २ करोड दिने घोषणा गरेका हुन् ।
पूर्वराजा शाहले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘दुःख–कष्ट र आपत–विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रोतर्फबाट हिमानी कोषलाई २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं ।’
सरकारी तथा गैह्सरकारी क्षेत्रबाट भइरहेको राहत, उद्धारमा भैहरेको कामको पूर्वराजा शाहले प्रसंशा समेत गरेका छन् । साथै उनले अझै प्रभावकारी बनाउन अनुरोध पनि गरेका छन् ।
पूर्वराजा शाहले लकडाउनलाई बाध्यात्मक कदम भन्दै यसको पालना गरिनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘लकडाउन बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन ।’
‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति हामी आभारी छौँ ’ शाहले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।