लकडाउनको पूर्ण पालना गर्न नेकपा भरतपुर महानगरको अनुरोध

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगर कमिटीले सरकारले जारी गरेको दोस्रो चरणको लकडाउनको पूर्ण पालना गर्न महानगरवासीहरुलाई अनुरोध गरेको छ । महानगर कमिटीका अध्यक्ष रामप्रसाद न्यौपाने र सचिव इश्वर सापकोटा सुमनले आज सार्वजनिक अपिल जारी गर्दै कोरोना भाइरसको संक्रमण फैलिन नदिन र सम्भावित जोखिम कम गर्न सरकारले आब्हान गरेको लकडाउनको पूर्णपालना गरेर नागरिकको दायित्व निर्वाह गर्न अनुरोध गरिएको छ ।

जारी अपिलमा भनिएको छ ‘विश्व नै कोरोना भाइरसका कारण संकटमा परिरहेको बेला मानव समुदायको रक्षाका लागि सामाजिक दूरी कायम गर्नु नै उपर्युक्त विकल्प ठहर गरि सरकारले दोस्रो चरण जारी गरेको लकडानको पूर्ण पालना गर्न सचेत महानगरवासी, पार्टी संगठक तथा कार्यकर्ताहरुलाई अनुरोध गर्दछौं ।’ अपिलमा पहिलो चरणको लकडाउनमा धैयतापूर्वक सरकारलाई सहयोग गर्ने आम जनसमुदायलाई धन्यवादसमेत दिइएको छ । संकटका बेलामा नागरिकलाई सबैले सहयोग गर्नुपर्ने बेलामा मौका छोपी कालो बजारी नगर्न पनि सम्वद्ध ब्यापारी तथा व्यवसायीलाई महानगरपालिकाले चेतावनी दिएको छ ।

साथैं, भरतपुर महानगरपालिकाले लकडाउनका बेलामा आधारभूत श्रमजीवि जनताका लागि वितरण गर्न लागेको राहातका कार्यक्रममा पार्टी कमिटीका तर्फबाट पूर्ण सहयोग गर्ने, त्यस्ता वर्गको पहिचान गर्न वडाध्यक्ष र महानगरपालिकालाई सक्रियतापूर्वक सहयोग गर्न र लकडाउनका बेलामा नागरिकलाई पर्न सक्ने असहजतालाई सहजीकरण गर्न महानगर कमिटीले मातहतका निकायलाई निर्देशन दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको