शिशिर सिंखडा, चितवन । कोरोना भाइरसको प्रभावको कारण चितवनमा रगतको अभाव भएकोले आज रक्तदान कार्यक्रम गरिएको छ । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल स्थित मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि.को आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम गरिएको थियो ।
रक्तदान कार्यक्रममा ५ महिला सहित ५२ जनाले रक्तदान गरेको संस्थाको लेखा समिति संयोजक लालु प्रसाद दाहालले जानकारी दिनुभयो । रक्तदान कार्यक्रम बाग्मती प्रदेशका सांसद घनश्याम दाहालले संस्थाका अध्यक्ष लक्ष्मीनारायण चौलागाईलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो ।
रिमालले गरेे १००औं पटक रक्तदान
सो रक्तदान कार्यक्रममा कालिका ६ कमल चोकका भरत रिमालले आज १००औं पटक रक्तदान गरेका छन ।
मेडिकल सिटीको रुपमा परिचित चितवनमा विभिन्न ४ वटा ठूला अस्पताल सहित करिव ३ दर्जन अस्पतालहरु रहेका छन् । यहाँका विभिन्न अस्पतालमा बिरामीहरुका लागि दैनिक १ सय पोका भन्दा बढी रगत आवश्यक पर्ने गर्दछ ।