रत्ननगरमा संचालित बालश्रम न्यूनीकरण कार्यक्रमको अनुगमन, हालसम्म ६ सय ८८ जना बालश्रमबाट मुक्त

शिशिर सिंखडा, चितवन । पूर्वी चितवनको रत्ननगरमा संचालित बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमको आज अनुगमन गरिएको छ । रत्ननगर नगरपालिका र युनिसेफ नेपालको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघद्वारा संचालित सो कार्यक्रमबाट हालसम्म भए गरेका गतिविधिहरुको अनुगमन गरिएको हो । रत्ननगरको वडा नं. २, ७, ८, १४ लगायतका विभिन्न वडामा बालश्रम न्यूनीकरणमा भएका गतिविधि र कार्यहरुको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा नगरपालिका क्षेत्रका ६ सय ८८ जना बालबालिकाहरुलाई बालश्रमबाट मुक्त गरिएको जानकारी दिइएको थियो ।

रत्ननगर क्षेत्रमा भेटिएका ९६३ जना बालश्रमिकमध्ये ६८८ जनालाई बालश्रमबाट मुक्त गरिएको छ । सन् २०२० भित्र रत्ननगर नगरपालिकालाई बालश्रममुक्त घोषणा गर्ने लक्ष्यसहित यहाँ गरिएको सर्वेक्षणमा साे तथ्य भेटिएकाे रत्ननगर उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । ६ सय ८८ जना बालश्रमिकमध्ये १३० जनालाई व्यावसायिक तालिम, २०५ जनालाई विद्यालय निरन्तरताका लागि शैक्षिक सामाग्री, २४० जनालाई मनोपरामर्शसहित पारिवारिक पुर्नर्मिलन, १०३ जनालाई आयआर्जनमा सहयोग र १० जनालाई व्यवसाय गर्ने किसिमका कार्यक्रम गरिएको संघका अध्यक्ष रेग्मीले बताए ।

यहाँ श्रम न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिएकाले हाल २ सय ७५ जना बालश्रमिक रहेका छन् । रत्ननगर स्थायी घर भएका भन्दा पनि अन्य जिल्ला मकवानपुर, धादिङ, गोरखा र भारतमा श्रमिक धेरै रहेको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले बताए । नगरपालिकाका मात्रै श्रमिक भए तत्काल समाधान गर्न सकिने र बाहिरी जिल्ला तथा स्थानीय निकायका समेत श्रमिक हुँदा  समयमा न्युनीकरण गर्न नसकिएको मेयर वनको भनाइ छ ।

नगरपालिका भित्र हालसम्म ६ वटा वडा बालमैत्री वडा घोषणा भइसकेका छन् । सन २०२० सम्ममा १६ वटै वडा बालश्रममुक्त घोषणा गर्ने योजना  छ  । रत्ननगर नगरस्तरिय बाल क्लबकी अध्यक्ष रोनिशा घिमिरेका अनुसार बालबालिकाहरुमा नैतिक शिक्षाको कमी देखिएको छ । उनले घोषणा गरेका वडामा बालबालिकाहरुलाई नैतिक शिक्षा दिन सके मात्रै पनि अभियानले सर्थकता पाउने तर्क गर्छिन् । हालसम्म रन्तनगर नगरपालिकाभित्र वडा नम्बर ३, ५, १०, १४, १५ र १६ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । कानुन अनुसार १४ वर्षमुनिका बालबालिकालाई कुनै पनि श्रममा तथा १४ देखि १८ वर्षसम्मका बालबालिकालाई निकृष्ट काममा लगाउन पाइँदैन ।

सो अनुगमनमा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, नगरपालिकाका शिक्षा शाखा प्रमुख बद्रिनारायण भट्टराई, सामाजिक विकास समितिका संयोजक एवम् वडा नं. १० का वडा अध्यक्ष केशव आचार्य, नगरपालिकाका प्रवक्ता राजेन्द्र हमाल, उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य उपेन्द्र आचार्य, नगर बाल सञ्जालकी अध्यक्ष रोनिसा घिमिरे, बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रमका सम्पर्क व्यक्ति विश्वास श्रेष्ठ, कार्यक्रमका व्यवस्थापक मिना खनाल, सामाजिक परिचालक सन्तोष रेग्मी, सिमरन श्रेष्ठ, सन्ध्या मरहठ्ठा, लक्ष्मी पौडेल एवम् पत्रकारहरुको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा विभिन्न वडाहरुमा सो संस्थाले आयआर्जन, सीपमूलक कार्यक्रम र शिक्षा क्षेत्रमा गरेको सहयोग तथा लगानीको अनुगमन गरिएको थियो । विभिन्न वस्तीमा बाख्रापालन, किराना व्यवसाय, सिलाइकटाइ लगायतका क्षेत्रमा संस्थाले गरेको लगानीबाट स्थानीयले आयआर्जन र स्वरोजगारीमा लागेको पाइएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको